काठमाडौं । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।


ADVERTISEMENT

# # #


सुरक्षा व्यवस्थामा कहीँकतै कमाजोरी नहुनेमा आश्वस्त पार्दै उनले ढुक्क भएर निर्वाचनमा मतदाता मतदान केन्द्रसम्म पुग्ने वातावरण रहेको टिप्पणी गरे ।

प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, बारा र धनुषामा असोज २ गते १३६ स्थानीय तहका लागि निर्वाचन हुँदैछ । यो प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।

प्रवक्ता सुवेदीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसनधान विभाग गरी करिब ६० हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन गरिने जानकारी दिए ।

आवश्यकताअनुसार सो संख्या बढ्नसक्ने समेत उनको भनाइ छ ।

निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ । जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ ।

राष्ट्रिय अनुसन्धान विभागलाई भने सूचना संकलनमा परिचालन गरिने भएको छ । विशेषतः २ नम्बर प्रदेशको निर्वाचनमा सिके राउत समूह र निर्वाचन बहिष्कार घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सुरक्षा चुनौतीको रुपमा लिइएको छ ।

सीमा नाका बन्द

निर्वाचनलाई मध्यनजर गर्दै गएराति १२ बजेदेखि नै निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ ।

प्रवक्ता सुवेदीले निर्वाचन हुने समयभन्दा ७२ घण्टा अघिदेखि निर्वाचन हुने सीमा जोडिएका जिल्लामा नाका बन्द गरिएको जानकारी दिए ।

निर्वाचन भइरहेका आठ जिल्ला भारतसँग सीमा जोडिएकाले सीमामा केही दिनदेखि नै विशेष निगरानी बढाइएको थियो ।
खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिनसक्ने नाका बन्द गरिएको हो ।
अवैध हातहतियार र आपराधिक गतिविधिमा संलग्न व्यक्ति नेपाल प्रवेश गर्न लागेमा तालीम प्राप्त कुकुरले सुघेर पत्ता लगाउने भएकाले सबै सीमा नाकामा तालीम प्राप्त कुुकुर परिचालन भएका थिए ।

दुई हेलिकप्टर तयारी अवस्थामा

निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा एउटा र बारा–पर्साको बीचमा एउटा गरी दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।

यस्तै नेपाली सेनाको बाहिनी र केन्द्रमा समेत थप हेलिकप्टर तयारी अवस्थामा राखिएको गृह प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । तेस्रो चरणको निर्वाचनमा छ हजार ६०० पदका लागि ३६ हजार ३१८ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

२ नम्बर प्रदेशमा जम्मा २६ लाख ९५० मतदाता र तीन हजार ५७८ मतदान केन्द्र रहेका छन् ।