काठमाडौँ – नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन विजया दशमी, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।


ADVERTISEMENT


आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।
नवरात्रिको दशौ दिनलाई विजया दशमी पनि भनिन्छ, यस तिथि निर्धारण देहाय आधारमा हुन्छ ।


ADVERTISEMENT

# # #


श्रवणर्क्षेण संयुक्ता दशमी शुक्लपक्षगा।। ईषमासिस्थिता ज्ञेया विजया दशमी तिथिः।।सा नवमीविद्धा कर्तव्या नत्वैकादशीयुक्ता।।

मध्याह्ने विजयमुहूर्तं इति केषाञ्चिन्मतम्।। विजयाख्योऽष्टमः।।किञ्चित्सन्ध्यामतिक्रम्य किञ्चिदुत्पन्नतारकाः।। विजयो नाम योगोऽयं सर्वकर्मसु सिद्धिदः।।

षोडशोपचारले अर्थात् सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ। यति गर्नाले कसैले पनि आफू माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ।

त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछ। यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ।

अनि घरका मोलमान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन्। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंकोलागि तयार पारी राखिएको नयाँ लुगा लाई टीका लगाउन जान्छन्।

टीका लाउँदा दिने आशिषः
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्‍योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥

द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईँलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ ।मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ ।

आफ्नो घरमा टीका लगाउन आउनेको क्रम पनि उत्तिकै रहन्छ। अन्त्यमा यो टीका लगाउने काम पूणिर्मासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको (पन्ध्र) दशैं चाडको अन्त्य हुन्छ।यसै बखत वर्षा पुग्यो भनी इन्द्रलाई समाचार दिने पौराणिक कथनको अवलम्बन गरी वर्षा थाम्न चङ्गा उडाउने कार्य पनि बन्द गरिन्छ।

आवाहनं नजानामि नजानामि विर्जसनम्।

पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी।

इमां पूजां मया देवी यथाशक्त्या निवेदितम्।

रक्षार्थ त्वत्प्रसादाय व्रज स्वस्थानमुत्तमम्।।

यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। अनि घरका मुलिद्वारा भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद ग्रहण गरिन्छ। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दसैँको लागि तयार पारी राखिएको लुगाले ठाँटिएर टीका लगाउन जान्छन्।

आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे र टीकाप्रसाद ग्रहण गर्ने उत्तम साइत १०ः१९ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा.  रामचन्द्र गौतमले जानकारी दिए ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले बताए । तर राज्य सन्चालकले पनि साइतै टीका लगाउनु पर्ने धर्मशास्त्रविद प्रा। डा। गौतम बताउँछन् । ‘राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,’ धर्मशास्त्रविद गौतमले भने ।