काठमाडौँ — राष्ट्रिय सभा सदस्यमा मनोनीत नेकपाका उपाध्यक्ष वामदेव गौतमको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सुनुवाई अव दशैपछि मात्रै हुने भएको छ ।


ADVERTISEMENT


न्यायाधीशहरुको गणपूरक संख्या नपुगेकाले बुधबार पनि संवैधानिक इजलास स्थगित भएसँगै उक्त मुद्दा दशैअघि निरुपण हुने सम्भावना टरेको हो । सर्वोच्च अदालतका केही न्यायाधीशहरु कोरोना संक्रमण देखिएपछि क्वारेन्टिन र आइसोलेसनमा रहेका छन् ।


ADVERTISEMENT

# # #


हाल हप्तामा बुधबार र शुक्रबार मात्रै संवैधानिक इजलास बस्ने व्यवस्था गरिएको छ । तर, आगामी शुक्रबार इजलास बस्ने सम्भावना न्यून रहेको छ । शनिबार घटस्थापनापछि देशभरका न्यायालयमा सार्वजनिक बिदा हुने भएकाले वामदेवको मुद्दा अब दशैँअघि सल्टिने सम्भावना न्यून बनेको हो ।

अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले गौतमको मनोनयनविरुद्ध राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय सभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतमा दायर गरेको दुई वटा रिटमाथि असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले सांसदको हैसियतमा कुनै काम कारबाही नगर्न अन्तरिम आदेश दिएको थियो । गौतमले राष्ट्रिसभाको शपथ समेत लिइसकेका छन् ।

यही असोज १४ गतेदेखि संवैधानिक इजलासमा उक्त विवादको सुनुवाइ शुरु भएको थियो ।