काठमाडौँ– राजधानीको चावहिलस्थित ओम अस्पतालको लापरबाहीका कारण नाकको शल्यक्रिया गर्ने क्रममा एक महिलाको मृत्यु भएको भन्दै आफन्तले विरोध जनाएपछि सो क्षेत्र तनावग्रस्त बनेको छ ।


ADVERTISEMENT


अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले नारा जुलुश गरेपछि अस्पताल तनाव ग्रस्त बनेको हो । चार दिन अघि नाकको कुरकरे हाडको शल्यक्रिया गर्न अस्पताल भर्ना भएकी बुटवलकी ४० वर्षीया कमला भट्टराईको आज दिउँसो मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


कमलाको अवस्था सामान्य रहेपनि जन्मजात नै नाकको हड्डी थोरै बांगिएका कारण अस्पतालमा जाँच गराउँदा अस्पतालले समान्य शल्यक्रिया गर्न सुझाएको मृतकका श्रीमान बसन्त भट्टराईले बताए । शल्यक्रियापछि बिरामीको नाकबाट निरन्तर रगत बगिरहने, बारम्बार बान्ता हुने तथा पिसाब रोकिएपछि मृत्यु भएको हो ।

मृतकका आफन्त विदुर दाहालले भने, रगत नरोकिएपछि हामीलाई डेढ लाखको औषधी किन्न लगाए, डाक्टरले अत्यधिक औषधीकै कारण मृगौला फेल भयो भने । अस्पतालले मृत्युको स्पष्ट कारण नदिए डाक्टरविरुद्ध कानुनी उपचार खोजिने बिरामीका आफन्तले चेतावनी दिएका छन् ।

अस्पताल प्रशासनले भने डाक्टरको लापरबाहीले बिरामीको मृत्यु नभएको दावी गरेको छ । अस्पतालका प्रशासन प्रमुख विनय प्याकुरेलले नाक संवेदनशील अंग भएकाले शल्यक्रिया गर्दा कहिले काँही बिरामीलाई बचाउन नसकिने जवाफ दिएका छन् ।