जाजरकोट – भौतिक पूर्वाधारको अभावमा चिरा परेको भवनमा सेवा दिँदै आएको जाजरकोट अस्पतालको आधुनिक भवन निर्माणको काम शुरु भएको छ ।


ADVERTISEMENT


अघिल्लो वर्ष अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार भएपछि यो आर्थिक वर्षबाट आधुनिक भवनको निर्माण कार्य शुरु भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिए । करिब रु ३० करोड रुपैयाँको लागतमा नयाँ भवन निर्माण हुन लागेको हो । शहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइले जिल्ला अस्पतालको भवनको निर्माण गर्न लागेको हो । विसं २०७७ असार २६ गते सिनर्जी, ज्ञानज्योति, क्षितिज जेभि कोटेश्वर ३२ काठमाडौँले भवन बनाउने ठेक्का लिएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै २०७९ पुस २५ गतेभित्र अस्पतालको भवन निर्माण कार्य पूरा गर्ने सम्झौतामा उल्लेख छ । विसं २०७२ मा गृहमन्त्री भएका हालका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले १५ श्ययाबाट ५० श्ययाको अस्पताल स्तरोन्नति भएको भन्दै उद्घाटन गरेका थिए ।

आज उनले नै ५० श्ययाको आधुनिक भवन निर्माणको शिलान्यास गरेका छन् । विसं २०३३ मा निर्माण गरिएको जीर्ण भवनमा अस्पतालले सेवा दिइरहेको थियो । जिल्लाका सबै समस्या समाधान उन्मुख भएर अगाडि बढेको मन्त्री बस्नेतले बताए ।

नयाँ भवन निर्माण हुँदा सेवा अवरुद्ध नहोस् भनेर कर्णाली प्रदेश सरकारले वैकल्पिक भवन निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा रु ४९ लाख उपलब्ध गराएकाले सो रकमबाट केही भवन निर्माण गरी अहिले सेवा सञ्चालन गरिएको छ । भवन अभावका कारण ५० श्ययाको उक्त अस्पतालले मुस्किलले २५ श्ययाको मात्र सेवा उपलब्ध गराउँदै आएको छ ।

जाजरकोट, रुकुम र डोल्पाका बासिन्दाको उक्त अस्पतालमा भीड लाग्ने गरेको छ । यसअघि निर्माण व्यवसायीले निर्माण गर्दा बीचमै छाडेर लथालिङ्ग बनाएका अस्पतालको प्रसूतिगृहलगायत भवन अहिले अस्पतालकै पहलमा निर्माण गरिएको छ । जिल्ला अस्पतालमा एम्बुलेन्स सेवा र दरबन्दीको विषयमा समेत पहल भइरहेको र यो आर्थिक वर्षभित्र पूरा हुने मन्त्री बस्नेतको भनाइ छ ।

जिल्ला भएर डोल्पा जाने सडकको काम अगाडि बढेको भन्दै उनले अब पश्चिम जाजरकोटको छेडा – जुनिचाँदे सडकको विस्तृत योजना प्रतिवेदनको काम शुरु भएर यो आर्थिक वर्षमा कालोपत्रेका लागि काम हुने बताए ।

कुदुमा खानेपानीको समस्या हल गर्न यो आवमा रु ७५ लाख विनियोजन भएको भन्दै अन्य रकमका विषयमा समेत छलफल चलिरहेको उनले बताए । टेलिफोन टावरका निर्माण भइसक्ने अवस्थामा कोरोनाका कारण ढिला भएको भन्दै अब वातावरण अनुकूल हुन गएकाले सोसमेत समाधान हुने जानकारी मन्त्री बस्नेतले दिए । रासस