एजेन्सी – भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । ८४ वर्षीय मुखर्जीको सोमबार उपचारका क्रममा दिल्लीस्थित आरआर अस्पतालमा निधन भएको हो ।


ADVERTISEMENT


मुखर्जीका छोरा अभिजीत मुखर्जीले ट्वीट गर्दै निधन भएको जानकारी दिएका हुन् । केही पहिले कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका उनको टाउकोको गम्भीर अप्रेसन समेत गरिएको थियो । उनी केही दिनदेखि ‘कोमा’मा थिए ।


ADVERTISEMENT

# # #


सन् २०१२ मा भारतको राष्ट्रपति बनेका उनी २०१७ सम्म राष्ट्रपति रहेका थिए । उनलाई सन् २०१९ मा भारतको सर्वोच्च सम्मान ‘भारत रत्न’ले सम्मानित गरिएको थियो ।  स्वास्थ्य अवस्था बिग्रिएपछि मुखर्जीलाई १० अगस्टमा अस्पताल भर्ना गरिएको थियो । मस्तिष्कमा रगत जमेपछि उनको शल्यक्रिया गरिएको थियो ।

मुखर्जीको निधन पश्चात भारतीय राष्ट्रपति रामनाथ कोभिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसका नेता राहुल गान्धी लगायत भारतीय नेताहरुले दुःख व्यक्त गरेका छन् ।

यस्तो छ प्रणवको जीवन कहानी

सन् १९३५ मा भारतको पश्चिम बंगालमा जन्मिएका मुखर्जीले कोलकत्ता विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा एमए गरेका थिए । प्रध्यापन समेत गरेका मुखर्जीको राजनीतिक यात्रा भारतीय राष्ट्रिय कांग्रेसबाट सन् १९६९ मा भएको थियो । उनी त्यो वर्ष राज्यसभामा चुनिएका थिए । त्यसपछि उनी सन् १९७५, ८१, ९३ र ९९ मा पनि राज्यसभामा चुनिएका थिए ।

उनी १९८२ देखि १९८४ सम्म केही क्याबिनेट पदका लागि चुनिएका थिए । १९८४ मा उनी भारतका वित्तमन्त्री बनेका थिए । पीभी नरसिंह रावको सरकारमा उनी १९९५ देखि ९६ सम्म विदेशमन्त्री बनेका थिए ।

सन् १९८६ मा गृहमन्त्री, सन् १९९३ देखि ९६, २००४ देखि २००६ सम्म रक्षामन्त्री बनेका उनी २००९ देखि २०१२ सम्म भारतको अर्थमन्त्री बनेका थिए । उनी सन् २०१२ मा पाँ वर्षका लागि भारतको १३ औँ राष्ट्रपतिका रुपमा चुनिएका थिए ।

मुखर्जीले सन् २०१६ मा भारतीय राष्ट्रपतिको रुपमा नेपालको तीन दिने राजकीय भ्रमण गरेका थिए ।