कालीकोट – कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहान मा पहिरो जाँदा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए ।


ADVERTISEMENT


“पहिरोबाट १३ वर्षीय बालक अर्जुन हमाल र ३५ वर्षीय महिला पुण्य शाहीलाई जीवितै उद्धार गरिएको छ,” उनले भने, “फोन सम्पर्क नहुँदा पूर्ण विवरण आउन सकेको छैन ।”


ADVERTISEMENT

# # #


उनका अनुसार जिल्लाबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार गर्नुका साथै जेसिबीसमेतले उद्धारको काम गरिरहेको छ । घटनास्थल जुम्ला र कालीकोट जिल्लाको सिमाना नजिक कर्णाली राजमार्गको कालीकोट सडक खण्डमा पर्दछ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जीवितै उद्धार गरिएका घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउँदै गरिएको जानकारी दिए । घटनामा के कति मानवीय क्षति भएको छ ? भन्ने एकीन विवरण आउन नसकेको जनाउँदै उहाँले जुम्लाबाट नेपाल प्रहरी, विपद् व्यवस्थापन समिति, सशस्त्र प्रहरी घटनास्थल पुगेर उद्धार गरिरहेको जानकारी दिए । रासस