स्थानीयको अवरोधका कारण एक सातादेखि उठ्न नसकेको भरतपुर महानगरको फोहोर उठ्न शुरु भएको छ । फोहोर व्यवस्थितरुपमा बिसर्जन गर्ने विषयमा स्थानीय टोल सुधार समितिसँग सहमती गरी फोहोर उठाउन थालिएको हो । हाल महानगरले भरतपुर महानगरपालिका वडा नम्बर ३ नगरवन नजिकै फोहोर बिसर्जन गर्दै आएको छ ।


ADVERTISEMENT


भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दीर्घकालिन रुपमा फोहोर व्यवस्थापनको काम भैरहेको भए पनि समय लाग्ने भएकाले अस्थायीरुपमा विगतमा बिसर्जन गरिएकै ठाउँमा फोहोर फालिएको बताइन्। स्थानीयको मागलाई सम्बोधन गर्दै व्यवस्थित बिसर्जन गर्ने गरी फोहोर उठाउन थालिएको उहाँले जानकारी दिनुभयो । बुधबार सहमति भएसँगै आजदेखि महानगरले फोहोर उठाउने कार्यलाई निरन्तरता दिने भएको छ ।


ADVERTISEMENT

# # #


महानगरले दीर्घकालिन रुपमा फोहोर व्यवस्थित गर्दैछ । दाहालका अनुसार कोरीयन सरकारको सहयोगमा आँपटारीमा व्यवस्थित डम्पिङ साइड बन्दैछ । सो क्षेत्रको १५ बिगाह वन क्षेत्रको सोधभर्ना गर्ने गरी महानगरले माडीमा १५ बिगाह जमीन खरिद गरेर वन बनाउँदै छ । झण्डै एक वर्ष अघि कोरीयन सरकारसँग सम्झौता गरी बिस्तृत अध्ययन प्रतिवेदनको काम कोरीयन कम्पनीले नै गरिरहेको जानकारी दाहालले दिइन् । कोरेना सङ्क्रमणका कारण काममा केही ढिलाई भएको हो । सेप्टेम्बरको अन्त्यसम्ममा प्रतिवेदन तयार हुनेछ । कोरीयन सरकारकै रु ९ करोडको खर्चमा प्रतिवेदन बनिरहेको छ । योसँगै फोहोर बिसर्जनको उपयुक्त विधिसहित काम अघि बढ्ने छ । त्यसको सहयोग कोरीयन सरकारले नै गर्ने दाहालको भनाइ छ । फोहोरबाट ऊर्जा, प्राङ्गारीक मल, पुनः प्रयोग लगाएतको काम गरिनेछ ।

महानगरले कम्पोष्ट च्याम्बरमा अनुदान, फोहोर व्यवस्थापन तालिमलगायत गतिविधि गर्दै आएको छ । प्रदेश सरकारसँग मिलेर भरतपुर महानगरपालिका वडा नम्बर ११ नवजागृति सामुदायीक वनमा कुहिने फोहोरबाट वायोग्यास र मल बनाउँदै छ । जसका लागि बाग्मती प्रदेश सरकारले रु ५० लाख सहयोग गर्दै छ ।

भरतपुर महानगरपालिका वातावरण शाखा प्रमुख ई. बिराट घिमिरेका अनुसार महानगर क्षेत्रबाट दैनिक ७० टन फोहोर सङ्कलन हुने गर्दछ । महानगरले मुख्य बजार क्षेत्रमा दैनिक फोहोर सङ्कलन गर्दै आएको छ भने ग्रामीण क्षेत्रमा १५ दिनमा एक पटक फोहोर उठाउने घिमिरेले बताउनुभयो । ठाउँअनुसार एक दिन बिराएर, हप्तामा दुई पटक, हप्तामा एक पटक फोहोर उठाइँदै आएको छ । स्रोतमै फोहोर कम गर्न महानगर लागि परेको उनले बताए । सुइरो कार्यक्रमसँग सहकार्य गरेर प्लाष्टिक जन्य फोहोर घटाउँदै आएको छ । महानगरबासीलाई घरमा फोहोर वर्गीकरण गरी अधिकतम उपयोग गरेर घरबाट पठाउने फोहोर घटाउन अनुरोध गरिएको घिमिरेले बताए । रासस