काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधामन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारका घटनाप्रति दुःख व्यक्त गरेका छन् ।


ADVERTISEMENT


आइतबार एक विज्ञप्ती मार्फत प्रतिकुल वातावरण र सामग्री अभावकाबीच ‘फ्रन्ट लाइन’मा खटिएका स्वास्थ्यकर्मीको प्रशंसा गर्दै देउवाले यस्तो बेलामा उनीहरुको काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरणमा खलल हुन नदिन सरकारसँग आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले विज्ञप्तीमा भनेका छन्, ‘कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको छ । स्वास्थ्यकर्मीहरु र स्थानीय नागरिक बीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि म तीनवटै तहका सरकारहरुलाई सजग गराउन चाहन्छु ।’ आजको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिरहेको भन्दै उनले आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्नु सबैको कर्तव्य रहेको बताएका छन् ।

उनले कारोना महामारीको असहज परिस्थितिलाई संयम र एकता साथ सामना गर्न सम्पूर्ण नेपालीहरुमा अपील गरेका छन् ।

यस्तै सभापति देउवाले पीसीआर परिक्षण ७७ जिल्लामै गर्ने गरी तत्काल क्षमता विस्तार गरेर समुदाय स्तरमा परीक्षण व्यापक रुपले पुर्‍याउन सरकारसँग माग गरेका छन् ।  कोभिड अस्पतालहरु निश्चित र व्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड व्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न समेत उनको माग छ । खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न र मापदण्डयुक्त सामग्री मात्रै खरिद गर्न समेत उनले सरकारलाई ध्यानाकर्ष गराएका छन् ।

देउवाले विदेशमा रोजगार गुमाएर, अप्ठ्यारोमा परेर देश फर्कन चाहने नेपालीलाई कल्याण कोषको रकम प्रयोग गरेर निःशुल्क उद्वार गर्न समेत देउवाले सरकारसँग माग गरेका छन् । उनले कोरोनाविरुद्ध देढ इच्छाशक्तिका साथ एक भएर लड्न पार्टीका नेता, कार्यकर्ता, स्थानीय सरकार र संघसंस्थालाई अपिल गरेका छन् ।