बैतडी – बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जङ्गली जनावरले आतङ्क मच्चाएका छन् । विगतका वर्षमा जस्तै बैतडी, दार्चुला, डडेल्धुरा, बझाङलगायत पहाडी जिल्लामा जङ्गली जनावरले आतङ्क मच्चाएका हुन् । दिनमा बाँदर, रातिको समयमा जङ्गली बँदेल, दुम्सीलगायत जङ्गली जनावरले अन्नबाली र तरकारी नष्ट गर्दा किसान आतङ्कित भएका छन् ।


ADVERTISEMENT


 

जङ्गली जनावर धपाउन रातदिन जाग्राम बस्नुपरेको दोगडाकेदार ७ चडेपानीका केशव भट्टले बताए । रातभर जाग्राम बसे पनि जङ्गली जनावरले मकैबालीमा ब्यापक क्षति पु¥याइरहेको उनी बताउँछन् । जङ्गली जनावर धपाउनकै लागि रातभर मकैबारीमै बस्ने गरेका दोगडाकेदार–३ का कृषक प्रकाश चन्दले बताए ।


ADVERTISEMENT

# # #


जङ्गली बँदेलले मकैबाली नष्ट गरेपछि भोकमरी हुने चिन्ता बढेको छ । मकैबाली जोगाउनकै लागि स्थानीयले बाजागाजा बजाउने गरेका छन् ।

 

यस्तै दार्चुला र डडेलधुरमा पनि त्यहाँका स्थानीयहरुले बताएका छन् । फौजी कीरा र फेदकटुवा कीराले अन्नबाली नष्ट गरेकोमा बँदेललगायतका जङ्गली जनावरले अन्नबाली खाइदिँदा किसान भोकमरी हुने भन्दै चिन्तामा परेका छन् ।

 

राहत पाउँदैनन् किसान

प्रत्येक वर्ष बालीनालीमा क्षति हुँदै आएको भए पनि राहत तथा क्षतिपूर्ति पाउन नसकेको किसानले बताएका छन् । खास गरेर बर्खेबालीमा जङ्गली बँदेल, दुम्सीलगायत जनावरले क्षति पु¥याउने गरेका हुन् । स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन सकेका छैनन् । किसानहरुले वर्षेनी बालीनालीमा क्षति बेहोर्दा सरकारले केही राहत नदिएको किसानले गुनासो गरेका छन् ।

 

बालीनालीमा क्षति हुने गरेको भए पनि कतैबाट क्षति पाउन नसकेको दशरथचन्द नगरपालिका–१ का किसान वीरबहादुर टेरले बताए। उनी भन्छन्, ‘प्रत्येक वर्ष मकैबालीमा क्षति हुने गरेको भए पनि सरकारी निकायबाट कुनै किसिमको क्षतिपूर्ति पाउन सकेको छैन ।’

 

जङ्गली जनावरले बालीनाली नष्ट गरेमा क्षतिपूर्ति दिने प्रावधान नरहेको मकै जोन कार्यालय बैतडीका प्रमुख हरिप्रसाद पनेरुले जानकारी दिए । ‘जिल्लाभरी मकैबालीमा क्षति पुु¥याएको भए पनि क्षतिपूर्ति दिने प्रावधान रहेको छैन,’ उनले बताए । बैतडी मकैको पकेट क्षेत्र भए पनि पकेट क्षेत्रमै मकैबालीमा क्षति भएपछि किसान हैरान भएका छन् । जिल्लाको सूर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिकालाई मकै पकेट क्षेत्रको रुपमा तोकिएको छ । यी क्षेत्रहरुमा मकै उत्पादन वृद्धि र प्रशोधनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएका भए पनि जङ्गली जनावरबाट मकैबाली जोगाउन धौ धौ भएको किसानले बताएका छन् । मकै जोन कार्यालयले बीउविजन र केही प्राविधिक सहयोग गरेको भए पनि जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका विषयमा केही नगरेको किसानको गुनासो छ । –––रासस