काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा २४० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको संख्या १७ हजार ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार यो संख्या कूल संक्रमितको ६६.८ प्रतिशत हो । नेपालमा हाल २५ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ हजार ९१३ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT

# # #


नेपालमा ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लाहरु पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ गरी ४ वटा रहेका छन् भने सक्रिय संक्रमित शून्य भएका जिल्ला संखुवासभा, मनाङ, मुस्ताङ र डोल्पा गरी ४ वटा रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ५९४ जना संक्रमित थपिएका छन् ।

थप ४ को मृत्यु, ९९ पुग्यो मृतक संख्या

गत २४ घण्टामा थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बाराका २ जना पुरुष, मोरङ र सिरहाका १–१ जना पुरुष रहेको प्रवक्ता डा. गौतमले जनाएका छन् ।

यससँगै कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । हालसम्म प्रदेश १ मा ९ जना पुरुषको मृत्यु भएको छ । यस्तै प्रदेश २ मा पुरुष ३१ र महिला ११ गरी ४२ जना, बाग्मती प्रदेशमा १३ जना पुरुष र ५ जना महिला गरी १८ जना, गण्डकी प्रदेशमा ६ जना पुरुष, प्रदेश ५ मा पुरुष ९ र महिला ३ गरी १२ जनाको मृत्यु भएको छ ।

यस्तै कर्णाली प्रदेशमा ४ जना पुरुष र सुदूरपश्चिम प्रदेशमा ५ जना पुरुष र ३ जना महिला गरी ८ जनाको मृत्यु भएको छ । मृत्यु हुने जम्मा संख्यामा ७७ जना पुरुष र महिला २२ जना रहेका छन् ।