काठमाडौँ – महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को त्रासकैबीच यस वर्षको गाईजात्रा पर्व मनाइएको छ ।


ADVERTISEMENT


भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ पर्व अघिल्ला वर्षको तुलनामा यस वर्ष भने उल्लासपूर्ण हुन सकेन । तर पनि सीमित मान्छेको झाँकी र समूहद्वारा फाट्फुट्टरुपमा मनाइएको छ ।


ADVERTISEMENT

# # #


एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

गाईजात्राका दिन भक्तपुरको मध्यपुर थिमिमा एक वर्षभित्र दिवङगत भएका आफन्तको सम्झनामा निकालिएको गाईजात्रा ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यस पर्व शुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पनि भीडभाड कम गर्न सरकारले आह्वान गरेको छ । कोरोनाका कारण भौतिक दूरी कायम गरेर चाडपर्व मनाउनुपर्ने अवस्था छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

भक्तपुरको मध्यपुर थिमिमा दिवङगत आत्माको चिरशान्तिको कामनास्वरुप निकालिएको गाईजात्रा ।

मध्यपुर थिमिमा दिवंगत आत्माको चिरशान्तिको कामना स्वरुप निकालिएको गाई जात्रा ।

कोरोना सन्त्रासका बिच संखुवासभाको खाँदबारीमा परम्परा जोगाउन नेवार समुदायले निकालेको गाईजात्रामा माक्स नलगाई आउनेहरुलाई माक्स बाड्दै ।

गाईजात्रा पर्वको अवसरमा बागलुङको नेवार समुदायले निकालेको तःहामचा ।

भक्तपुरको दरवार क्षेत्रमा मंगलबार निकालिएको गाईजात्रा ।

भरतपुर महानगरपालिका–१० मा पितृको सम्झनामा आफन्तले निकालेको गाईजात्राको झलक ।

कोरोना भाइरस संक्रमित दिनानुदिन वढिरहेको वेला जोखिमको कुनै प्रवाह नगरी चरिकोट बजारमा गाईजात्रा ।

तनहुँको सदरमुकाम दमौलीमा मङगलबार साँझ गाईजात्रा निकाल्दै नेवार समुदाय ।

सबै तस्बिर : रासस