काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्न सक्ने भन्दै रोकथामका लागि आवश्यक तयारी गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्रीले भारतबाट आउने कतिपय नेपाली क्वारेन्टिइनमा नबसी सिधै घर जाने गरेको पाइएको अवस्थामा सङ्क्रमणको जोखिम बढेको बताए ।


ADVERTISEMENT


उनले क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन गर्न निर्देशनसमेत दिए । भारतबाट आउने नेपालीलाई सीमा क्षेत्रबाट सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा पठाउनुपर्ने जिम्मेवारी रहेकोमा पछिल्ला केही हप्तादेखि क्वारेन्टिनमा पठाउने काम कसैले नगरेको बताइएको छ । जसका कारण प्रदेशमा रोगको जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ । हाल सुदूरपश्चिमका जिल्लामा रहेका क्वारेन्टिनमा झण्डै दुई हजार व्यक्ति मात्र बसिरहेका छन् ।


ADVERTISEMENT

# # #


प्रदेशमा विभिन्न नाकाबाट हाल दैनिक ३०० देखि बढीमा एक हजारको सङ्ख्यामा नेपाली भित्रिइरहेको क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए। “नेपाल भित्रिनेमध्य थोरै व्यक्तिमात्र क्वारेन्टिनमा जाने गरेको पाइएको छ”, डा अवस्थीले भने, “भित्रिने कतिपय व्यक्ति क्वारेन्टिनमा नगएर सिधै घर जाने प्रवृत्तिले रोगको जोखिम थप बढेको छ ।”

बैठकमा कोभिड–१९ को उपचार र व्यवस्थापनमा हालसम्म भए गरेका कार्यको समीक्षा र आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा छलफल गरिएको छ । बैठकमा कोरोना सङ्क्रमितको उपचार गर्ने नयाँ पद्धति ‘प्लाज्मा थेरापी’ लागू गर्ने बारेमा समेत छलफल गरिएको छ । यो विधि हाल सेती प्रादेशिक अस्पताल धनगढीमा मात्र सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको डा अवस्थीले जानकारी दिए । बैठकमा स्वास्थ्य निर्देशक डा अवस्थी, प्रदेशका प्रमुख सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सेती प्रदेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलगायत सहभागिता रहेको थियो । रासस