काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । उनीहरु पर्साका ३ जना पुरुष र एक जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुषको बिहीबार (हिजो) राती मृत्यु भएको छ । मुटु रोगी उनलाई आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । साउन ६ गते कोरोना पुष्टि भएपछि साउन ७ गते उनलाई गण्डक अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको थियो । मृत्युको समयमा उनमा अक्सिजनको कमी हुँदै गएको प्रवक्ता डा. गौतमले जनाए ।


ADVERTISEMENT

# # #


यस्तै पर्साकै वीरगञ्ज महानगरपालिका वडा नं. १६ निवासी ३५ वर्षीय अर्का पुरुषको पनि कोरोनाबाट ज्यान गएको छ । उनको पनि हिजै गण्डक अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो । गत साउन ५ गते निजी क्लिनिक हुँदै वीरगञ्जस्थित तराई अस्पतालमा भर्ना भएका उनी स्वास्थ्यमा सुधार नआएपछि साउन १३ गते ज्वरो तथा श्वासप्रश्वासमा समस्या भई गण्डक अस्पतालमा भर्ना भएका थिए । उनको सान १५ गते(हिजो) कोरोना पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

यस्तै पर्साकै वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैया निवासी अर्का एक पुरुषको पनि हिजो बिहान मृत्यु भएको छ । मृत्यु पश्चात स्वाब जाँचको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको थियो ।

यस्तै पर्साकै वीरगञ्ज महानगरपालिका वडा नं. ११ घर भई ललितपुर बस्दै आएकी ६५ वर्षीय एक महिलाको आज पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. गौतमका अनुसार मधुमेह र प्रेसरकी बिरामी ती महिला साउन ६ गते पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।

ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या भई उपचारका लागि ललितपुरकै स्टार अस्पतालमा भर्ना भएकी उननलाई साउन ६ गते कोरोना पुष्टि भएपछि पाटन अस्पताल रिफर गरिएको थियो ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या १९ हजार ७७१ रहेको छ । आज मात्रै २२४ जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये १४ हजार ३९९ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १५१ जना उपचार पछि निको भएका छन् ।