बैतडी– बैतडीको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला मंगलबार सम्पन्न भएको छ ।


ADVERTISEMENT


अनन्त चतुर्दशीको अवसरमा लाग्ने ठूलीजातका अवसरमा निंगलाशैनी भगवती मन्दिरमा बिहानैदेखि मेला भर्नेको घुँइचो लागेको मेला व्यवस्थापन समिति अध्यक्ष रनबहादुर बोहराले बताए ।


ADVERTISEMENT

# # #


निंगलाशैनी भगवती मन्दिरमा विशेष पूजा लाग्ने अनन्त चतुर्दशीको दिनलाई महत्वपूर्ण दिनका रुपमा लिइने पूजारी देवदत्त भट्टले बताए । जातको अवसरमा मन्दिरमा तीनरात बस्ने र उभिएर बत्ती बाल्ने महिला भक्तजनको घुइँचो लागेको हो ।

निंगलाशैनी भगवती मन्दिरमा तीनरात बसेमा तथा उभिएर बत्ती बालेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । अनन्त चतुर्दशीको अवसरमा आइतबारदेखि लागेको मेलामा मंगलबार मन्दिरमा विशेष पूजाआजा सम्पन्न भएको छ । यो मेलालाई स्थानीय भाषामा ठूलीजात भन्ने चलन रहिआएको छ ।

अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलामा नेपालसहित भारतका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेको बताइएको छ । यो जात्रामा बलि नहुने र यो जातलाई ठूलीजातको रुपमा मनाउने गरेको उनले बताए । निंगलाशैनी भगवतीको मन्दिरमा भाद्र शुक्ल चतुर्दशी, असोजको महाष्टमी, मंसिर शुक्ल पूर्णिमा र चैतको अष्टमीका दिन बिशेष जात्रा हुने गर्दछ ।

मेला अवधिभर मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएकाले कसैले सेवन तथा बिक्री वितरण नगर्न मेला व्यवस्थापन समितिले सबैमा आग्रह गरेको छ । कसैले समितिको निर्णय विपरीत मेलास्थलमा मदिरा सेवन तथा बिक्री वितरण गरेको पाइएमा कारबाही गरिने मेला व्यवस्थापन समितिका अध्यक्ष रनबहादुर बोहराले जानकारी दिए । रासस