– राजेन्द्र प्रसाद फुयाल


ADVERTISEMENT


अल्वर्ट आइन्स्टाइन एक सैद्धान्तिक भौतिकविद् थिए । उनी सबैभन्दा बढी सापेक्षताको सिद्धान्त र द्रव्यमान –उर्जा समीकरण E=mc2 को लागि चिनिन्छन् । यहाँ सापेक्षतालाई समयसित जोड्दा समय–सापेक्षता हुन्छ । यसको परिभाषा शुत्रात्मक रुपले दिन सकिँदैन ।


ADVERTISEMENT

# # #


म यस समय सापेक्षतालाई महान सद्गुरु ओशोको भनाइबाट शुरु गर्न चाहन्छु । “सबै कुरा समयमा नै हुन्छ । समयमा जन्म, समयमा मृत्यु स समयमा नै सफलता, समयमा नै असफलता–सबै कुरा समयमा नै हुन्छ, समयभित्र नै हुन्छ स न पहिला न पछि । विपत्ति अथवा सम्पत्ति दैविक संयोगबाटै घटित हुन्छ भन्ने जसले बुझ्छ ऊ सधैँ सन्तुष्ट हुन्छ । न हतार हुन्छ न अधैर्य हुन्छ । जब समय हुन्छ, बालीनाली पाक्छ, थन्काउछु । जब विहान हुन्छ सूर्य उदाँउछ, सूर्यको दर्शन गर्छु, घाम ताप्छु । जब रात पर्छ, विश्राम गर्छु, आराम गर्छु । सबै छोड्दै निद्रामा मग्न हुन्छु, डुब्छु । सबै सहज रुपमा आँफै भइरहेको छ र आफ्नै समयमा भइरहेको छ । अशान्ति तबमात्र जन्मिन्छ, जब मैले समयभन्दा पहिल्यै केही माग्न थाल्छु । हामी भन्छौँ छिटो होस् । ” अष्टावक्र महागीता ३/३१ ओशो

यहाँ युग भन्नाले समय हो । समय सापेक्ष हुन्छ । समयको सापेक्षतालाई प्रकृतिले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा मानवजातिलाई चेतन–अचेतनको पहेलीमा दिशानिर्देश गरेको हुन्छ । तर, यदि समाजको नेतृत्वले, प्रकृतिको यस गम्भीर रहस्यलाई बुझ्ने त कता हो कता त्यसलाई तोडमोड गर्ने, उपेक्षा गर्ने र अझ अगाडि बढेर सर्वोपरि अहंकारमा ओतप्रोत, विलासी तर छद्मवेशी स्वरुपमा, आदर्शवादी भएर वास्तविकताको उपाहास गर्दै जनमानसलाई दिग्भ्रमित बनाउने गृहकार्यमा संलग्न हुन्छ भने उक्त समूहलाई झोले क्रान्तिकारी भनिन्छ ।

वैश्य युगको चर्चा पूर्व, ब्राह्मण युग भन्नाले, वैदिक युग, सत्य युग, ज्ञान र त्यागको युग, अथवा सत्य र अहिंसाको युग भन्ने बुझिन्छ । ज्ञान र त्यागलाई नै सर्वोपरि मानिन्छ । जन्मलाई भन्दा कर्मलाइ, मृत्युको क्षणलाई महत्व दिइन्छ ।

जनमना जायते शुद्रः संस्कारत द्विज उच्यते ।
शापानुग्रहसामथ्र्य तथा क्रोधः प्रसन्नता ।३१–३४।। “स्कन्द पुराण भाग २३९”

अर्थात मनुष्य जन्मदा शुद्र भएर जन्मन्छ । ब्राह्मण हुँदा दोश्रो जन्म भएको मानिन्छ । किनकि सत्यलाई जानेको हुन्छ प्रबुद्ध भएको हुन्छ । समयको बहावमा अहंकार शुन्य, रागद्धेषबाट पर, दया र करुणाको सागर, आनन्द मग्न तथा सत्यलाई जीवनको सर्वोपरि मान्ने मानिसलाई ब्राह्मण भनिन्छ । सेवा र धर्मलाई मूल्यमा रुपान्तरण गर्ने कुरा कल्पना बाहिरको हुन्छ । सुख र विलासिता जीवनको बर्बाद हो, ज्ञान र त्यागलाई जीवनको सर्वोकृष्ट वरदान हो भन्नेमा विश्वास राख्दछ । भिक्षा माग्दै ज्ञान बाँड्नुलाई जीवनको पहेली सुल्झाउने दर्शनको रुपमा स्थापित गरिएको हुन्छ । स्वयम् भगवान बुद्ध आफ्नो शिष्यलाई भिक्षु भन्नु हुन्छ र भिक्षा माग्दै ज्ञान र परोपकार गर्न उत्प्रेरित गर्नु हुन्छ । यसलाई समाजले उच्च वर्गको सम्मान दिँदै पूजा गर्छ ।

यसै सन्दर्भमा, म एक किशोर सत्यकाम ब्राह्मण कसरी भएको थियो भन्ने पौराणिक तथ्यलाई राख्न चाहान्छु स एक किशोर जसको नाम सत्यकाम थियो । सत्यको खोजमा ऋषि हरिद्रुमत गौतम कहाँ पुगेछ । उसले ऋषिलाई सत्यको खोजीमा आएको मलाई मार्गदर्शन गर्नुहोस् भनेछ । ऋषिले तिम्रो पिता को हो ? थर गोत्र के हो ? भनी सोधेछन् । किशोरलाई थाहा थिएन । सिधै आफ्नो आमा कहाँ पुगेर ऋषिको जिज्ञासा दोहोर्‍याएछ । आमाले भन्नुभएछ । “म युवा अवस्थामा भद्र पुरुषसँग रम्दै उनीहरुलाई प्रशन्न बनाउने गर्थें । तिनैमध्ये, को बाट तिमी जन्मेको हो ? भन्न सक्दिन ।” त्यसपछि किशोर सिधै ऋषि कहाँ पुगेछ । आफ्नो आमाले भनेको कुरा जस्ताको त्यस्तै भनेछ । ऋषिलाई फेरि भनेछ–तर मेरो आमाको नाम जावाली हो गुरुदेव ! त्यसैले मेरो नाम सत्यकाम जावाली हो गुरुदेव ! ऋषिको हृदय प्रफुल्लित भएछ र युवकलाई अँगालो हाल्नु भएछ । “सत्यकाम ! तिमी वास्तविक ब्राह्मण हौ, जसले सत्य खोज्न सक्छ । आऊ म तिमीलाई सत्यको मार्गमा दिशा–निर्देश गर्दछु, शिष्यको रुपमा स्वीकार्दछु ” पाखण्डीपन सत्यका लागि घातक मानिन्छ । आफूभित्रको वास्तविकतालाई नाङ्गो रुपमा हेर्न सक्नु पर्छ । यसलाई नै सत्यकालीन साहस भनिन्छ ।

वैश्य युग भन्नाले व्यापार–वाणिज्यको युग भन्ने बुझिन्छ । यस युगको मर्म भनेको अर्थोपार्जन तथा अर्थोन्नति गर्दै सेवा दिनु हो । सरल भाषामा सेवामुखी व्यवसायलाई उच्च प्राथमिकता दिएको हुन्छ ।

संक्षेपमा भन्नुपर्दाः
१) वैश्य युगको संवृद्धि, व्यापार–वाणिज्य हो भने ब्राह्मण युगको ज्ञान र त्यागको मार्गद्वारा सत्यको खोजी गर्नु हो ।
२) वैश्य युग पहिला म, मेरो र हाम्रोको क्रमवद्धतामा हुन्छ भने ब्राह्मण युग हाम्रो, मेरो र म को क्रमवद्धतामा हुन्छ ।
३) वैश्य युगमा सेवामुलक व्यवसायको बाहुल्यता हुन्छ भने ब्राह्मण युगमा त्यागमुलक सेवाको प्राथमिकता हुन्छ ।
४) वैश्य युगमा व्यक्ति प्रधान हुँदै एकांगी ढाँचाले प्राथमिकता पाइरहेको हुन्छ भने ब्राह्मण युग समूह प्रधान हुन्छ ।

सारांशमा भन्नुपर्दा ब्राह्मण युगमा सरस्वती तथा ज्ञानी पुरुषको पूजा गरिन्छ भने वैश्य युगमा लक्ष्मी तथा धनीहरुको पूजा र सम्मान गरिन्छ ।
वर्तमान वैश्य युगमा ब्राह्मण छैनन् ? छन् । तर, ती पनि वैश्यकै चङ्गुलभित्र अड्केका छन् । त्यसैले यस युगमा अर्थोपार्जन नै सर्वोपरी हुन्छ । मनुष्यले अर्थोपार्जनको सम्भावित बाटो नियाल्दै अर्थोन्नति बिविनाको जीवन कल्पना गर्न सक्दैन । उदाहारणको लागि, संसार कोभिड–१९ ले आक्रान्त छ । करिव ६ लाख मानिस मरिसकेका छन् । देश करिब ४ महिनादेखि बन्दाबन्दीमा छ । तर, नेपाली युवाहरु कोरिया (विदेश) काम गर्न जाने वातावरण बनाऊ भनेर आन्दोलन गर्छन् ।

समाजले, अभिभावकले, र शिक्षकले आफ्नो किशोर–किशोरीलाई शिक्षा प्रदान गर्दा बजारको माग र पूर्तिलाई विचार पुर्‍याउन उत्प्रेरित गरिरहेका हुन्छन् । आर्थिक प्रतिस्पर्धालाई सफलताको संज्ञा दिएका हुन्छन् । त्यसैले यदि समाजमा मातापिताको प्रेम, गुरु–शिष्यको श्रद्धा र परिवारिक सम्बन्धलाई नाफा–नोक्सानमा तौलिने हिसाब किताब हुन्छ भने त्यो वैश्य युग र झोले क्रान्तिकारीहरूको गैर धार्मिक अव्यवहारिक चरित्र र शैक्षिक गतिविधिको गलत अभ्यासले भएको हो । त्यसो भए वर्तमान समाज स्वार्थको समाज हो ? विवेकहीन र विचारहीनको समाज हो ? एकदम होइन । तर देश, राजनीति कुण्ठा र हिनताले ग्रसित भएकाले समाज नकरात्मकता, निराशा र दिग्भ्रमभित्र रुमलिएको चाँहि हो ।

वैश्य समाज आजको आवश्यकता हो । नेपाली उखान छ– मानो रोपेर मुरी फलाउनु पर्छ । तर, जनसंख्याको वृद्धिदरको अनुपातमा मानो रापेर क्विन्टल फलाउनु पर्छ । हिजोको दिनमा १ परिवारको ५ जनाले ३ माना गँहुको पिठोको रोटी बनाएर पुर्याए हुन्थ्यो । तर, आज त्यति नै परिमाणको गँहुको पिठोबाट पाउरोटी, नुडल, चाउचाउ जस्ता परिकार बनाएर ५० जनालाई पुर्‍याउन आवश्यक छ ।

हामीले विकसित देशको आर्थिक रणनीति र कार्ययोजनाको अध्ययन गर्ने हो भने यही पाउँछौँ । जति सक्दो धेरै स्वरोजगारी तयार गर्ने, उनीहरुलाई उत्प्रेरित गर्ने, लक्ष्य निर्धारण गरिदिने, निष्पक्ष तवरले अनुगमन गर्ने, दण्ड–पुरस्कारको न्यायिक कार्यान्वयन गर्ने, जसले प्रशस्त रोजगार सृजना गरोस् । प्रशस्त मुनाफा सृजित गरोस् र सृजित आयबाट मनग्य आयकर लिने र वितरण प्रणालीमा न्यायोचित पारदर्शिताको कार्यान्वयनबाट आवश्यक व्यक्ति ,समुह र स्थानमा पुर्‍याउने कार्य ती विकासित देशमा देखिन्छ । सजिलो भाषामा यसलाई स्वतन्त्र अर्थ नीति तथा पुँजीप्रधान अर्थनीति पनि भन्न सकिन्छ ।

यस अर्थनीतिको महत्वपूर्ण पक्ष आर्थिक स्वतन्त्रता हो । वैचारिक तथा पूर्ण मानव अधिकार सहितको अभिव्यक्ति स्वतन्त्रता हो । सम्पूर्ण मानव जातिमा उड्ने चरा र त्यसमा पनि मयुर, यस्तै बाघ त्यसमा पनि सिंह मन नपर्ने सायद कोही होला ! किन ? मेरो विचारमा मनुष्य स्वतन्त्र हुन चाहन्छ, स्वतन्त्र भएर उड्न चाहन्छ, नाच्न चाहन्छ र यो नै जीवनको सुन्दरता हो । तर स्वतन्त्रता कसैको लागि बाधक नबनोस्, अनावश्यक हस्तक्षेप नहोस् भन्नेमा समाजको संस्कृति, राज्य र त्यसका निकायहरु चनाखो हुनुपर्छ । तर, पूर्ण स्वतन्त्रता न त शासकहरूलाई पाच्य हुन्छ न समाजलाई । पूर्ण स्वतन्त्रता त जंगलको हुर्काइ जस्तो हुन्छ । जहाँ स्वतःस्फुर्त रुपमा हुर्कने बढ्ने र मर्ने वनस्पति, जनवार, नदी—नाला, झर्नाहरू हुन्छन् । जब कि समाजले मानव निर्मित बगैंचा चाहन्छ । तर बगैंचामा मालीलाई मनपर्नेले बढी प्रथमिकता पाउँछ । काँटछाँट र आकार तय गरिएको हुन्छ । यदि आज विश्वमा रोग—व्याधि, अनिकाल, युद्ध—संघर्ष, परिवर्तन र विकसित देशहरूमा मानसिक तनाव, र असुन्तलन छ भने, यो हुनुको पछि सुन्दर बगैंचाको आग्रह चरम भएर नै हो भन्ने लाग्छ । अर्थात् वैश्य युग (पुजीँवादी युग) को प्रजातन्त्रलाई यसरी पनि बुझ्न सकिन्छ ।

मानिलिऊँ एक किसानले बाख्रा चराउँदा घाँटीमा लामो डोरी लगाएर चौरको बिचमा किला गाडेर छोडिदिन्छ । आवश्यकता अनुसार डोरीलाई लचकता पनि बनाइदिने गर्छ भने त्यो आजको स्थापित पुँजीवादी प्रजातन्त्र हो । तर, त्यही ठाउँमा मार्क्सवादी प्रजातन्त्र प्रेमीहरुले एउटा चौरको पनि आधा भागमा ठूलो पर्खाल लगाएर बिना डोरी थुप्रै बाख्रा चराउँदै ल हेर कसले बाख्रालाई स्वतन्त्रता दिएको छ भनी ठुलो स्वरमा चिच्याउँदो रहेछ ! यसमा पनि अझ झोले क्रान्तिकारीहरूले त चौरमा घाम–पानी बेहोर्न पर्छ । हिँड खोरमा म काटेकै घाँस—दाना दिनेछु भनेर खोर आकर्षित बनाउने तिर पो लाग्ने रहेछ । विचरा ती बाख्रा चरेर खाने दुःखले खोरतिर जाने, फेरिपनि आफू थुनिएको चालै नपाई झ्यालबाट, हामीलाई घाँस—दाना ल्याऊ नालायकहरू भन्दै रुने, चिच्चाउने बर्बराउने जस्ता कार्यहरु गर्ने रहेछन् ।

मेरो व्यक्तिगत अनुभवमा पनि, २०३६ साल यता जनवाद, मार्क्सवाद, लेनिनवाद, सर्वहारा वाद, माओवाद, गरिबी उन्मुलन, समृद्ध नेपाल सुन्दा सुन्दा कानै बहिरो हुन थाल्यो । २०३६ सालमा ५ कक्षा पढ्दै गर्दा जनमत संग्रहको लहरसँगै परालको टौवा माथि टुप्पोमा पहेँलो झण्डा गाड्ने गाँउको पहिलो साहसी फुच्चे भएको थिएँ । समाजवाद–साम्यवाद र मार्क्सवाद भनेको के हो ? जानी—नजानी, बुझी—नबुझी, मार्क्सको पुँजी, सोभियत संघको बोल्सेभिक क्रािन्ति, मोदनाथ प्रश्रितको देवासुर संग्राम देखि नारी बन्धन मुक्ति जस्ता किताब खोजी खोजी लुक्दै पढियो । जब पहिलो पटक २०५२ सालमा जर्मन पुगेँ, वास्तवमा म अलमलमा परेको थिएँ कि म एक पूँजीवादी देशमा छु वा मैँले पढेजस्तै समाजवाद–साम्यवादी देशमा छु ?

जतिबेला भर्खर भर्खर वर्लिनको पर्खाल ढलेर दुई जर्मनी एक भएको थियो । म आश्चर्य चकित त तब भएँ जब म ४ वर्ष अघिसम्म कम्युनिष्ट शासन सत्ता रहेको पुर्वी जर्मनी भ्रमण गरे । पश्चिम जर्मनीको एक ठुलो विज्ञान को संङ्ग्रहालयमा नेपालमा भर्खर–भर्खर आएको आधुनिक ट्याक्टर देखेँ । तर पूर्वी जर्मनीको कृषि प्रणाली अझै पनि नेपालको जस्तै थियो । अझ अचम्म त व्रिटिसको आइरन व्रिज (संसारको पहिलो फलामको पुल) भन्ने ठाउँमा २५० वर्ष अगाडिको विकासलाई संङ्ग्रहालयको रुपमा, फलाम खानी, कोइला खानी, रेल, धान—तेल कुट्ने मिल, मैनबत्ती उद्योग, घरहरू, चर्च लगायत प्रदर्शनीको लाइभ देख्दा म नेपालमै छु भनेर रोमाञ्चित पो भएछु ।

पुँजीवाद र साम्यवादको आजसम्मको मेरो व्यक्तिगत अनुभव र बुझाइमा पुँजीवादले फक्रने र फुल्ने अवसर त दिने रहेछ । तर, फूल टिपीटिपी हैरान पार्दो रहेछ । मोटाउने अवसर पनि दिने रहेछ । तर, बोसो माग्दो रहेछ । साम्यवादले त फक्रने वातावरण त त्यस्तै हो, कोपिलै टिपिदिने रहेछ ! तर, अझ झोले क्रान्तिकारीहरुको त कुरै अर्को । परिचय सर्वहारा नेता-कार्यकर्ताको तर जीवनशैली सामन्तवादलाई माथ गर्ने, कुरा समाजवाद र साम्यवादको तर अकुत सम्पति जोड्ने होडबाजी, कुरा सु–शासनको, क्रियाकलाप सर्व–सत्तावादको, नातावाद र कृपावाद त एक सरल अज्ञानी नागरिकलाई पनि अपच हुनेगरी छरपष्ट हुँदो रहेछ ।

तर यो सँधै रहँदैन । किनभने टेक्ने धरातल नै दलदले भईरहेको कुरा, उन्मत्तताले अन्धो बनाउँदो रहेछ । सद्गुरु ओशो भन्नुहुन्छ , “जोसँग जे हुँदैन, उसले त्यसकै सबैभन्दा बढी वकालत र जीकिर गर्छ । भित्रबाट डरपोक हुन्छ । तर, कहिलेकाँहि हिटलर बनेर साहस प्रदर्शन गर्ने खतरा पनि हुन सक्छ । भित्रबाट कुण्ठित र हिनताबोध हुन्छ, बाहिरवाट सर्वोपरीको र बहादुरीको अभिनय गर्छ ।”

यसलाई स्वाभिमानी नेपालीले चिनौँ । भावनामा तर्क नगरौं । आदर्शवाद भावनासँग जोडिएको हुन्छ । जबकि विज्ञान यथार्थवादसँग जोडिएको हुन्छ । आजको समाज विज्ञान उन्मुख छ । हामी यसैपनि धैरै पछि परिसकेका छौं । पेशालाई सम्मान गरौँ । गरी खानेको इज्जत गरौं, परिश्रमको कदर गरौँ र समाजका दुश्मनको पहिचान गरौँ । इर्श्यालाई सकारात्मक उर्जा दिऊँ । तब मात्र हामी हाम्रो विवेकको उचित प्रयोग गर्न सक्छौँ र यही धर्म हो, यही भक्ति हो र सेवा पनि हो ।