काठमाडौँ – नेपालमा थप १९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नयाँ संक्रमण देखिनेहरुमा रुपन्देहीमा ६ जना, बारामा ३ जना, कपिलवस्तुमा ३ जना, पर्सामा २ जना, सर्लाही, मोरङ, काठमाडौँ, नुवाकोट र गुल्मीका १–१ जना गरी १९ जना रहेका छन् । उनीहरु सबै पुरुषहरु हुन् ।


ADVERTISEMENT

# # #


जसमध्ये प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको नमूना परीक्षणमा मोरङको बाह्रदशी–३ का ४५ वर्षीय एक जना पुरुष रहेका छन् । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्ज पर्साका २५ वर्षीय पुरुष, पर्सा ठेगाना भएका बारामा कार्यरत ३४ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

यस्तै पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहत ठेगाना भएका कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर–६ का ४८ वर्षीय पुरुष, रुपन्देही समालीमाई–५ का ४० र ५० वर्षीय २ जना पुरुषहरु, रुपन्देही–१ का ३२ वर्षीय पुरुष, काठमाडौँ सोह्रखुट्टेका ६९ वर्षीय एकजना पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । नुवाकोटमा पहिलो पटक कोरोना देखिएको हो ।

यस्तै प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको नमूना परीक्षणमा रुपन्देही गैडहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय ३ जना पुरुष, कपिलवस्तु खैराती–३ का ३५, ३७ र ५२ वर्षीय पुरुष पनि कोरोना पुष्टि भएको छ । यस्तै गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय एक जना पुरुष रहेका छन् ।

पोजेटिभ देखिएका सबैको स्थायी ठेगाना र हालको ठेगाना अनुसार कन्ट्रयाक्ट ट्रेसिङ गर्ने काम स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट सुरु भएको प्रवक्ता डा. देवकोटाले बताए ।

यससंगै नेपालमा संक्रमितको संंख्या ६०३ पुगेको छ । जसमध्ये पुरुषहरु ५२४ र महिला ७९ जना रहेको प्रवक्ता डा. देवकोटाले बताए । कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा र गुल्मीका ४१ वर्षीय पुरुष रहेका छन् ।

८७ जना उपचारपछि निको भएका छन् भने बाँकीको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।