काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देशका सातवटै प्रदेशका ४२ जिल्लामा फैलिएको छ । शनिबार (आज) पहिलो पटक नुवाकोटमा एकजना देखिएसँगै देशका ७७ मध्ये ४२ जिल्लामा कोरोना फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतसहित वैतडी, बर्दिया, बाँके र झापाका ३६ जनामा कोरोना देखिएको हो । आज देखिएका संक्रमितमध्ये ३५ जना पुरुष र १ जना महिला रहेका छन् ।


ADVERTISEMENT

# # #


यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । संक्रमितमध्ये ५२४ पुरुष र ७९ जना महिला रहेका छन् । ८७ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ । प्रादेशिक विवरण अनुसार प्रदेश नं. ५ मा सबैभन्दा बढी संक्रमित रहेका छन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम संक्रमित छन् ।

प्रदेश नं. १ का ७ जिल्लामा संक्रमण फैलिँदा ८६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रदेश नं. २ का सबै (८ वटै) जिल्लाका १७९ जना, बाग्मती प्रदेशका ११ जिल्लामा ३४ जना (एकको मृत्यु), गण्डकी प्रदेशका ३ जिल्लामा ५ जना, प्रदेश नं. ५ का ७ जिल्लामा २८१ जना (एकको मृत्यु), कर्णाली प्रदेश २ जिल्लामा ४ जना र सुदूरपश्चिम प्रदेशका ४ जिल्लामा १४ जना संक्रमित रहेका छन् ।