तानसेन – कालीनदीको पुलमा लगाइएको छेकबार हटाइएपछि किसानलाई खेतबारीमा काम गर्न जानआउन सहज भएको छ । खेतबारीमा पानी लगाउन र बाँदर लाग्ने खेतमा मकै कुर्नसमेत नपाएर हैरान भएका कृषक छेकबार हटेपछि खुशी भएका छन् ।


ADVERTISEMENT


स्याङ्जा तथा तनहुँबाट पाल्पा आएर काम गर्ने कृषकलाई पुलमा लगाइएको छेकबारले हिउँदेधान गोड्न तथा मकै कुर्न आउन जान समस्या थियो । “बन्दाबन्दीले कालीनदीको पुल तरेर रामपुरमा रहेको खेतमा आउने अवस्था थिएन, अहिले केही भए पनि सहज भयो”, चापाकोट दामाचौरका टीकाराम परियारले भने। चापाकोट, दामाचौर र प्याक्लुकघाटको पुलमा कृषकका लागि बिहान ६ बजे आउन र बेलुका ६ बजे फर्कने व्यवस्था भएको हो । खेतमा आउँदा खानाको समेत व्यवस्था गरेरै कृषक खेतमा आउने गरेका छन् ।


ADVERTISEMENT

# # #


स्याङ्जाको चापाकोट नगरपालिका तथा पाल्पा रामपुर नगरपालिका प्रहरीसँग गुनासो राखिएको र सञ्चारमाध्यममा समाचार प्रकाशन प्रसारण भएपछि समस्या समाधान भएको कृषकले बताएका छन् । चापाकोट नगरपालिकाबाट रामपुरमा आएर कृषि काम गर्ने करीब ३० कृषक छन् । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले धेरै बहाना बनाएर मानिस ओहोरदोहोर गर्न नपाइने तर तोकिएको समयमा कृषकलाई खेतमा आउने व्यवस्था मिलाइएको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीमा पनि कृषकले खेतीपाती गर्न पाउने भएकाले स्थानीय तहसँगको समन्वयमा कृषि काम गर्न भनेको छ । प्रशासनका सूचना अधिकृत यज्ञेश्वर पन्थीले समस्यामा परे स्थानीय तहसँग समन्वय गर्न अनुरोध गरे ।