काठमाडौँ – प्रेस काउन्सिल नेपालले कोभिड–१९ को सङ्क्रमणका समाचार सङ्कलन गर्न सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि निर्देशिका जारी गरेको छ ।


ADVERTISEMENT


काउन्सिलले विश्वव्यापीरुपमा महामारीको रुप लिएको कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वका सम्बन्धमा महामारीलगायत जनस्वास्थ्यसँग सम्बन्धित समाचार सम्प्रेषण निर्देशिका– २०७६ जारी गरेको हो ।


ADVERTISEMENT

# # #


निर्देशिका अनुसार पत्रकार तथा सञ्चारमाध्यमले कोरोना सङ्क्रमणसम्बन्धी सत्यतथ्य र आधिकारिक स्रोत वा विषय विज्ञबाट पुष्टि भएका समाचार सामग्री मात्र सम्प्रेषण गर्ने, पत्रकार तथा सञ्चारमाध्यमले सामाजिक सञ्जालमार्फत् प्रवाह गर्ने कोरोना सङ्क्रमणसम्बन्धी समाचार, लेख, सूचना वा जानकारी मर्यादित सत्य तथ्यपूर्ण र आधिकारिक हुनुपर्ने, सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताले प्रवाह गरेका कोरोना सङ्क्रमणसम्बन्धी समाचार, जानकारी वा लेख र कमेन्टलाई शेयर, लाइक वा रिट्वीट गरी पुनः प्रकाशन गर्दा पत्रकार तथा सञ्चारमाध्यमले आफूले प्रकाशन गरे सरह आधिकारिकतासमेतको ख्याल गरी सम्प्रेषण गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस्तै पत्रकार तथा सञ्चारमाध्यमले आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनुपर्ने, कोरोना भाइरसको शङ्का भएकाको परिचय गोप्य राख्नुपर्ने, साथै सङ्क्रमित व्यक्तिलाई नकारात्मक असर पार्नसक्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण नगर्नु, सङ्क्रमित व्यक्तिको सचेत स्वीकृति र सम्बन्धित आधिकारिक स्रोतको अनुमति बिना परिचय सार्वजनिक गर्न नहुने कुरासमेत निर्देशिका उल्लेख गरिएको छ ।

यसैगरी पत्रकार तथा सञ्चारमाध्यमले कोरोना सङ्क्रमणसम्बन्धी समाचार सामग्री प्रवाह गर्दा कोरोना भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग जोड्ने वा तिनका कारण फैलिएको भनेर आरोपित गर्न नहुने, कुनै पनि सङ्क्रमित व्यक्तिलाई लाञ्छना वा व्यक्तिगत आरोप लगाउने गरी समाचार सम्प्रेषण गर्न नहुने, पत्रकार तथा सञ्चारमाध्यमले कोरोना सङ्क्रमणसम्बन्धी समाचार सामग्री प्रवाह गर्दा नेपाल सरकारको आधिकारिक निकायबाट पुष्टि नभएका अनाधिकृत, गलत र अतिरञ्जनापूर्ण सूचना तथा हल्लालाई स्थान दिन नहुने, पाठक, स्रोता र दर्शकमा निराशा वा उत्तेजना हुन नदिन सदैव विशेष संवेदनशीलता र सतर्कता अपनाउनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

यसैगरी पत्रकार तथा सञ्चारमाध्यमले सङ्क्रमित व्यक्तिका नातेदार वा नजिकका व्यक्तिको नाम, ठेगाना र पहिचान खुल्नेगरी समाचार, तस्बिर र दृश्य उत्पादन, वितरण वा प्रकाशनप्रसारण गर्न नहुने, पत्रकार तथा सञ्चारमाध्यमले सङ्क्रमण भई निधन भएका व्यक्तिका दृश्य एवं तस्बिर सम्प्रेषण गर्न नहुने, पत्रकार तथा सञ्चारमाध्यमले प्रवाह गरेका कोरोना सङ्क्रमणसम्बन्धी समाचार सामग्रीमा कुनैपनि त्रुटि एवं गल्ती भेटिएमा यथाशीघ्र सच्याइ त्यसबारे सोही सञ्चारमाधयमबाट सार्वजनिक जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ । निर्देशिकाको पत्रकार तथा सञ्चारमाध्यमले पालना गरे-नगरेको काउन्सिलले अनुगमन गरी आवश्यक कारवाही गर्नसक्नेसमेत उल्लेख गरिएको छ । रासस