एजेन्सी– युरोपमा कोभिड–१९ बाट ज्यान गुमाउने र नयाँ सङ्क्रमण थपिने क्रम बढेको छ । इटालीमा गएको २४ घण्टामा थप ३ सय ६८ जनाको ज्यान गएको भने ३५ सय ९० जना नयाँ बिरामी थपिएका छन् ।


ADVERTISEMENT


योसँगै इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९ पुगेको छ । २४ हजार ७ सय ४७ जनामा सङ्क्रमण भएको छ । २० हजार ६ सय ५ जना उपचार गराइरहेका छन् ।


ADVERTISEMENT

# # #


स्पेनमा ज्यान गुमाउनेको संख्या २ सय ९२ पुगेको छ भने ७ हजार ८ सय ४३ जनामा सङ्क्रमण भएको छ । फ्रान्समा १ सय २७ जनाको ज्यान गएको र ५ हजार ४ सय २३ जना सङ्क्रमित भएका बीबीसीले जनाएको छ ।

वेलायतमा पनि ३५ जनाको ज्यान जानुको साथै १३ सय ९१ जना सङ्क्रमित भएका छन् । जर्मनी, फ्रान्स, स्विजरल्याण्ड, डेनमार्क, पोर्चुगल लगायतका देशमा पनि सङ्क्रमण बढिरहेको छ ।

युरोपका सबैजसो देशले कडा प्रतिबन्ध सुरु गरेका छन् । मानिसलाई काममा जान, खाना र औषधि किन्न बाहेक हिँडडुल रोकिएको छ । विश्व स्वास्थ्य संगठनले पनि चीनबाट शुरु भएको कोरोना माहामारीको केन्द्र अब युरोप भएको बताएको छ ।

१ सय ५७ देशमा फैलिसकेको कोरोना भाइरसबाट अहिलेसम्म झण्डै १ लाख ७० हजार मानिस सङ्क्रमित भएका छन् भने ७६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । ६ हजार ५ सय जनाको मृत्यु भइसकेको छ ।