कृष्ण दर्नाल, पाल्पा – रिब्दीकोट गाउँपालिकामा १६१ खरका छाना भएका घर छन् । चालू आर्थिक वर्षको साउनमा २२६ खरका छानामध्ये हाल ६५ घरमा कर्कटपाताको छाना लगाइएको छ । दक्ष कामदारको अभाव, वर्षेनी खर्च बढ्दो, खर तथा डाडाभाटाको अभावसँग जुध्नुपर्ने बाध्यता रहेकोमा गाउँपालिकाले कर्कटपाताले छाना टल्काउन थालेपछि खरका घर भएका परिवारका सदस्य खु्शी देखिएका छन् ।


ADVERTISEMENT


गाउँपालिकाको आर्थिक सहयोगमा खरका छाना हटाइ कर्कटपाताले छाएपछि घरका छाना टल्किन थालेको हो । गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले चालू आवको असार मसान्तसम्म बाँकी खरका छाना हटाएर कर्कटपाताले छाउने कार्यक्रम रहेको बताए । चालू आवको माघ महिनासम्म वडा नं २, ३ र ५ मा खरका छाना पूर्णरुपमा हटाइएकोे छ । वडा २ मा दुई आवमा १५ घर खरको छानामुक्त बने । घर खरको छानामुक्त बनाउन वडाले ३६० कर्कट पाता स्थानीय बासिन्दालाई वितरण गरेको थियो ।


ADVERTISEMENT

# # #


वडा नं ३ मा २७ घर खरका छाना रहेकामा सबैमा कर्कटपाताले छाइएको छ । वडा नं ५ मा आव २०७५-०७६ मा ३३ खरका छाना हटाइ कर्कटपाताले छाइएको छ । आव २०७६-०७७ मा गाउँपालिकाभित्रका ६१ घरका खरका छाना हटाइ कर्कटपाता लगाउने काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्यालले बताए । आव २०७५-०७६ मा २० लाख बजेटमार्फत ९१ घरमा खरका छाना विस्थापित गरी कर्कटपाताका छाना लगाउने काम भएको छ । आव २०७६-०७७ मा ३७ लाखमा २२६ खरका छानामुक्त बनाउन काम अघि बढेको छ ।

आव २०७५-०७६ मा वडा नं १ मा ५४६ मध्ये २७ घर खरका छानाका छन् । त्यसमध्ये १४ घर कर्कटपाताले छाइएको छ । वडा नं २ का ६२९ र ३ नं वडाका ५५५ घरमा कर्कटपाताको छाना लगाइएको छ ।

त्यस्तै ४१३ घर रहेको वडा ५ कुखुमखोला खर छानामुक्त भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा ३३ घर कर्कटपाता वितरण पछि खरका छाना हटाइ कर्कटपाताले टल्किन थालेका हुन् । छ नम्बर वडाका ५७८ मध्ये ६७ घर छाना खरको थियो । तीमध्ये १८ घरमा स्थानीय सरकारको सहयोगमा कर्कटपाता लगाउने काम भएको छ । बाँकी ४९ घरमा खरका छाना हटाउने कार्यक्रम रहेको छ । वडा नंमा ७ मा २४ घरका छाना कर्कटपाता लगाइएकोमा २२ घरमा खरका छाना छन् । सो वडामा ६५५ घर छन् । वडा ८ मा पहिलो चरणमा २३ र दोस्रो चरणमा १२ घरमा खरका छाना हटाइ कर्कट पाताको छाना लगाउने काम भएको छ । कूल ६५ खरका छानालाई विस्थापित गरी कर्कटपाता प्रदान गरी खरका छानामुक्त बनाउन थालेकोे वडाध्यक्ष नारायण बहादुर लाम्टाङगेले बताए।

स्थानीय सोहरकी ६५ वर्षीय देवी बगाले पहिलो पटक कर्कटपाताको छाना रहेको घरमा रात बिताउन पाउँदा खुशी छन् । वर्षेनी घर छाउनुपर्ने र पैसाको अभावमा पिरलीनुपर्ने समस्या थियो । आर्थिकरुपमा विपन्न समुदायका नागरिकलाई गाउँपालिकाको सहयोगमा खरका छानालाई कर्कटपाता प्रदान गरी घर टल्काउन थालेपछि स्थानीय सरकारको महत्व बढेको छ ।

रम्भा गाउँपालिकाले चालू आव २०७६-०७७ मा ३३३ घरमा खरका छाना हटाएर पूर्णरुपमा खर छानामुक्त अभियान थालेको छ । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले खरका छाना हटाइने बताए ।

गाउँपालिकाभित्र झण्डै चार हजार ५०० घर छन् । यस आवको अन्तिममा गाउँपालिकालाई खरका छानामुक्त घोषणा गर्न रु ७० लाख बजेट रहेको अध्यक्ष भण्डारीले बताए । गाउँपालिकाले प्रत्येक वडामा कर्कटपाता पठाएको छ । खरका छाना हटाएर वडामा कर्कटपाताको माग गर्न आएपछि स्थानीय तहबाट कर्कटपाता हस्तान्तरण गरिन्छ । रासस