गोविन्द प्रसाद ढकाल : प्रमुख कार्यकारी अधिकृत (सीइओ), गरिमा विकास बैँक


ADVERTISEMENT


पछिल्लो समय गरिमा विकास बैँकले आफ्ना गतिविधि कसरी सुचारु गरिरहेको छ ?


ADVERTISEMENT

# # #


विशेषगरी अहिले गरिमाका अर्धवार्षिकी सकिएको छ । योभन्दा अगाडि ‘रिकभरी’लाई हामीले ध्यान दिइरहेका थियौँ । अहिले हामी व्यापार वृद्धितर्फ लागेका छौँ । व्यापारमा अहिले केही चुनौति पनि देखिएको छ । नेपाल राष्ट्र बैँकबाट केही निर्देशनहरु आएका छन् । त्यसले गर्दा पनि हामीलाई थोरै अप्ठ्यारो परेको छ । तर पनि ‘कर्जाका प्रोडक्ट’हरुलाई केही परिवर्तन गरेर हामीले नयाँ गर्न खोज्दैछौँ । दोस्रो कुरा यो आर्थिक वर्षमा हामीले झण्डै १२ वटा शाखा खोल्ने भन्ने हाम्रो लक्ष्य थियो । ती शाखा कार्यालय खोल्नका लागि हामीले सम्पूर्ण प्रक्रियाहरु अगाडि बढाएर तिनलाई सम्पन्न गर्नमा हामी व्यस्त छौँ ।

नेपालमा अहिले विकास बैँकको भूमिका के हो ? यसका लागि चुनौतिहरु के के छन् ?

सबैभन्दा पहिलो चुनौति भनेको त व्यवसाय विस्तार नै हो । जुन हिसाबमा पूँजी वृद्धि भएको छ, त्यो हिसाबमा नाफा कमाएर “डिभिजन” दिनका लागि अलि अप्ठ्यारो परेको महसुस भइरहेको छ । तपाईंले हेर्न सक्नुहुन्छ, बैँकहरुमा पछिल्लो वर्षको ‘ग्रोथ रेट’ भन्दा अहिलेको वर्षको ‘ग्रोथ रेट’ ५ प्रतिशतभन्दा बढी कसैको पनि भएको छैन । विभिन्न प्रावधानले गर्दा लगानी संकुचन हुँदा ‘स्प्रेड रेट’ कम भएको हुनाले नाफामा कमी आयो ।

यो विकास बैँक मात्रै नभएर सम्पूर्ण बैँक तथा वित्तीय संस्थाहरुमा छ । अर्को विकास बैँकको अप्ठ्यारो भनेको विकास बैँक–विकास बैँक र विकास बैँक–कमर्सियल बैँकबीच अहिले मर्जको लहर छ । यसले गर्दा भोलिका दिनमा बाँकी रहेका विकास बैँकहरुमा पनि दोधारपन र अस्थिरता निम्त्याउँछ । यसले कर्मचारीमा पनि भोलि के हुने हो, हाम्रो पद के हुने हो भन्ने डरले अस्थिरता निम्तिन्छ । यो चुनौतिका रुपमा देखिएको छ । अहिले विकास बैँकहरुको बजार एकदमै राम्रो छ । लगानी र डिपोजिट संकलनमा कुनै समस्या छैन । तर, हामीलाई केही व्यवहारिक कठिनाईहरु आइरहेका छन् । जसमा कर लगायतका कुराहरु छन् । यिनलाई ल्याउनु त थियो, तर एउटा प्रक्रिया पुर्याएर विस्तारै ल्याउँदा राम्रो हुन्थ्यो । यद्धपी हामीले विरोध गर्नुपर्ने ठाउँ छैन ।

अहिलेको अवस्थामा विकास बैँकका अवसरहरु के-के हुन् ?

मलाई लाग्छ, राष्ट्र बैँकले वगीकरण गरेका ‘क’, ‘ख’ र ‘ग’ मध्ये सबैभन्दा बढी अवसर विकास विकास बैँकहरुलाई छ । अहिले जनताले वाणिज्य बैँक र फाइनान्स कम्पनीलाई भन्दा विकास बैँकलाई विश्वास गरेका छन् । जनसंख्याका हिसाबले, क्षेत्रका हिसाबले विकास बैँक बलियो अवस्थामा छन् । यसले गर्दा विकास बैँकमा विभिन्न अवसरहरु सिर्जना भएका छन् ।

मर्जरका विषयमा बैँक तथा वित्तीय संस्थताहरुले स्पष्ट रुपमा बुझ्न नसकेकोजस्तो देखिन्छ । विकास बैँकका लागि मर्ज कत्तिको आवश्यक हो ?

पछिल्लो समयमा मर्ज भएका विकास बैँकहरुले राम्रै गरिरहेका थिए । हुनत मर्ज भएका विकास बैँकहरुमा बोर्ड, सञ्चालकहरुले केही देखेर, केही बुझेर मर्ज गर्नुभएको होला । तर, मेरो व्यक्तिगत विचारमा नेपाल राष्ट्र बैँकमा जुन बाफिया परिवर्तन हुँदैछ, त्यसमा उल्लेख भएअनुसार विशेष गरी सञ्चालक समितिका योग्यता, कार्यकाल र प्रमुख कार्यकारी अधिकृतको कार्यकाल जसरी तोकियो, यसले गर्दा अब हामी रहन पाउँदैनौँ भन्ने मानसिकता कायम गर्यो । हामी नेपालीको सोचाईं जहाँ पनि त्यस्तै हो । जहिले पनि म भइनँ भने काम हुँदैन भन्ने मानसिकता रह्यो ।

हामी रहेनौँ भने विकास बैँक के होला ? सीइओले कसरी काम गर्लान् भन्ने मनोभाव बोकेर मर्ज गरेका कतिपय छन् ।  हामीले एक अर्काको अस्तित्व स्वीकार गर्न सकेनौँ । त्यसकारणले पनि यस्तो भएको जस्तो लाग्छ । तर मलाई लाग्छ, हामी एउटा प्रणालीमा गइसकेपछि, सबै कुरा दह्रो भइसकेपछि भोलि जो आएर पनि विकास बैँक राम्रोसँग चलाउन सक्छ । कुनै सञ्चालक रहनु र नहनुले त्यसमा कुनै अर्थ रहँदैन ।

नेपाल राष्ट्र बैँक लगायत कसैले पनि विकास बैँकलाई तिमीहरु मर्जमा नजाओ भनेर न भन्नु भएको छ, न हामीसँग कुनै योजना माग्नु भएको छ । उता प्रत्येक कमर्सियल बैँकहरुमा प्रत्येकको योजना मागिएको छ । तर, विकास बैँकमा त्यस्तो छैन । अहिले राष्ट्र बैँकका डेपुटि गभर्नर लगायतबाट विकास बैँक बचाउनु पर्छ, मर्जमा जानु हुँदैन भन्ने आवाज आएको छ ।

विकास बैँकलाई कसरी बचाउने ? यसको स्तर बढाउनका लागि के गर्न आवश्यक छ ?

पूँजीगत हिसाबले विकास बैँक दह्रो भइसकेका छन् । व्यापारको हिसाबले पनि ग्रोथ रिटर्न पनि राम्रै छ । जहाँसम्म यसलाई बचाउने करा छ, सबैभन्दा पहिले यसका जति पनि प्रवर्द्धक, सञ्चालक, सीईओहरु छन्, उहाँहरुले विकास बैँकको महत्व के छ भन्ने कुरा बुझ्न आवश्यक छ । अहिले पनि ४० प्रतिशत मान्छेहरु बैँकिङ्ग पहुँचबाट बाहिर छन् भन्ने आएको छ ।

ती ठाउँहरुमा पनि बैँक लैजाने र स्तरीय सेवा दिने, सजिलैसँग बैँकमा जनता छिर्न सक्ने अवस्था निर्माणका लागि विकास बैँक बचाउनै पर्छ । नेपाल राष्ट्र बैँकले पनि विकास बैँकका बारेमा केही सोच्नु पर्छ जस्तो लाग्छ । त्यो भन्दा पहिले लगानीकर्ताले पनि सोच्न आवश्यक छ । नेपाल राष्ट्र बैँकले विकास बैँकको आवश्यकता महसुस गरेको छ भने केही कुराहरुले सम्बोधन गर्नुपर्छ जस्तो लाग्छ मलाई ।

अन्तिममा के भन्न चाहनुहुन्छ ?

विकास बैँकमा हामी जतिपनि आवद्ध छौँ, हामीले हिजो कहाँ के गर्‍यौँ, दूरदराजमा कसरी बैँकिङ्ग पहुँच पुर्‍यायौँ र हाम्रो भोलिको दायित्व के हो भन्ने सोचेर अगाडि जानुपर्छ । बैँकलाई अझ मजबुत बनाउन सूचना प्रविधिको विकासदेखि लिएर आफ्ना विभिन्न किसिमका प्रणालीहरुमा स्तरोन्नती गर्न हामी लाग्नुपर्छ भन्ने लाग्छ ।