एजेन्सी – ईङ्लिस प्रियिमर लिग फुटबलमा लिभरपुलले कीर्तिमानी जित निकालेको छ । सोमबार राति वेस्ट ह्यामबिरुद्ध जित निकाल्दै लिभरपुलले म्यान्चेष्टर सिटीले कायम गरेको लगातार १८ जितको कीर्तिमान बराबरी गरेको हो ।


ADVERTISEMENT


सन् २०१७ को अगष्टदेखि डिसेम्बरसम्म सिटीले १८ खेलमा लगातार जित निकालेर कीर्तिमान कायम गरेको थियो । चालू सिजन निकै फर्ममा रहेको लिभरपुलले सिटीको सो कीर्तिमान बराबरी गरेको हो । लिभरपुलले गत अक्टोबरमा म्यान्चेष्टर युनाईटेडसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । त्यसपछि लिभरपुल लिगमा निरन्तर विजयी छ ।


ADVERTISEMENT

# # #


लिग तालिकामा सुविधाजनक अग्रता लिएको लिभरपुलले सोमबार राति संघर्षपूर्ण जित आत्मसाथ गर्यो । रेलिगेशन जोनमा रहेको वेस्ट ह्यामबिरुद्ध लिभरपुलले ३–२ को कठिन जित निकाल्यो ।

तर पछिल्लो जितसँगै लिभरपुललाई प्रियिमर लिगको ऐतिहासिक उपाधि जित्न अब मात्र ४ जित आवश्यक देखिएको छ ।

जर्जिन्हो विजनाल्डमले खेलको नवौं मिनेटमा एनफिल्ड क्लब लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि पाहुना टोली वेस्ट ह्यामका इस्सा डिपले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफमा पाब्लो फोर्नाल्सको गोलसँगै वेस्ट ह्याम खेलमा अगाडी बढ्यो । ६८ औँ मिनेटमा मोहमद सलाहाले खेल बराबरीमा ल्याए । बराबरीतर्फ उन्मुख खेलको ८१ औँमिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई महत्वपूर्ण तीन अंक दिलाए ।

लिभरपुलले लिगमा २२ अंकको अग्रता कायम गर्यो । डेबिड मोयस नेतृत्वको वेस्ट ह्याम २४ अंक सहित रेलिगेशन जोनमै रह्यो ।