पोखरा – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली आज पोखरा आएका छन्। नेकपा गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न उनी पोखरा आएका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा प्रदेश प्रमुख अमिक शेरचन, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका मन्त्री, प्रदेश मुख्य सचिव हरिप्रसाद बस्याल, प्रजिअ रमेशकुमार केसी, प्रदेशभित्रका सङ्घीय संसद्का सदस्य, प्रदेशसभा सदस्य, पार्टीका नेतालगायतले स्वागत गरे ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । उनका अनुसार पोखरा सभागृहमा हुने प्रशिक्षणमा प्रदेश कमिटीका सम्पूर्ण पदाधिकारी, प्रदेशमा रहेका केन्द्रीय कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी, प्रदेशभित्रका गाउँपालिका, नगरपालिकाका अध्यक्ष एवम् उपाध्यक्षसहित झण्डै एक हजार ४०० जनाको सहभागिता छ ।

प्रधामन्त्री ओलीलाई कालो झण्डा

पोखरामा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना विद्यार्थी पक्राउ परेका छन् ।

समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थी पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी गरिरहेका बेला पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सभागृह गेटमा नाराबाजी गरिरहेका समाजवादी विद्यार्थीका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटालगायत ४ जनारहेका छन् ।

विद्यार्थीले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरण, यति होल्डिङ्सलाई सर्वाजनिक जग्गा उपलब्ध गराएको, नेकपा सरकार भष्ट्राचारमा लिप्त भएको लगायतका आरोप लगाउँदै नाराबाजी गरेका थिए ।