काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बोर्डकाे अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे उच्च स्राेतले बतायाे ।


ADVERTISEMENT


त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए  र  बेलायतबाट विजनेश फाइनान्समा एमबीए गरेका ढुंगाना धितोपत्र बोर्डको विज्ञ सञ्चालक थिए । त्यसअघि उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए । राष्ट्र बैंकमा ३० वर्ष काम गरेर उनले अनिवार्य अवकाश लिएका थिए । उनी नेपाल धिताेपत्र विनिमय बजारमा तीन वर्ष सञ्चालक समिति सदस्य समेत भएका थिए ।


ADVERTISEMENT

# # #


माेरङ जिल्लामा २०१९ साल माघ १० गते जन्मिएका ढुंगानाले २०४२ सालदेखि २०४६ सालसम्म राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका थिए । २०४६ सालमा राष्ट्र बैंकमा जागिर शुरू गरेका उनी विदेशी विनिमय व्यवस्थापन विभागकाे कार्यकारी निर्देशक पदबाट अवकास पाएका  थिए ।

ढुंगानाले अब धितोपत्र बोर्डमा ५ वर्ष नेतृत्व गर्ने छन् । बोर्डमा अध्यक्ष नै कार्यकारी प्रमुखको हुन्छ । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड पछिल्लो समय प्रभावकारी नियामकको रुपमा अगाडि बढिरहेको छ ।

नियुक्ती पछि विकासन्युजसँग कुरा गर्दै उनले पुँजी बजारकाे स्थायीत्व र  बजार प्रवर्धनकाे कार्यलाई प्राथमिकता राख्ने बताए ।

बोर्डले नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत पब्लिक कम्पनीहरु, मर्चेन्ट बैंकर्स, सेयर ब्रोकर लगायत पुँजी बजारमा प्रत्यक्ष रुपमा संलग्न कम्पनीहरुको अनुगमन गर्छ ।

बोर्ड अध्यक्ष छनौटका लागि गठन भएको सिफारिस समितिले ढुंगाना, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी र डा केशब श्रेष्ठको नाम सिफारिस गरेको थियो । धितोपत्र बोर्डको अध्यक्ष डा रेवतबहादुर कार्कीको कार्यकाल सकिएपछि गत कात्तिकदेखि उक्त पद खाली थियो ।