नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सफल बनाउन लन्डनस्थित नेपाली दूतावासले विशेष कार्यक्रम शुभारम्भ गरेको छ । शनिबार आयोजित शुभारम्भ समारोहमा दूतावासले वर्ष २०२० का लागि विभिन्न योजना सार्वजनिक गर्दै बेलायतस्थित नेपाली समुदायलाई सहयोगको अपिल गरेको छ ।


ADVERTISEMENT


समारोहमा स्वागत मन्तव्य दिंदै संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाल भ्रमण वर्षमा बेलायतबाट एक लाख पर्यटक नेपाल पठाउने दूतावासको योजनामा साथ दिन अपिल गर्र्नुभयो । । उहाँले भन्नुभयो, ‘हाम्रो महत्वाकांक्षी योजना होइन्, सबैले एक(एकजना आफ्नो बेलायती साथीलाई नेपाल पठाए एक लाख होइन, तीन लाखसम्म पर्यटन पठाउन सकिने मेरो आत्मविश्वास छ’ ।


ADVERTISEMENT

# # #


राजदूत डा सुवेदीले बेलायतमा आगामी मे २५ मा हुन लागेको नेपाल र बेलायतको राष्ट्रिय फुटबल टिमबीच हुन लागेको मैत्रीपूर्ण खेल, बेलायत र नेपालका विभिन्न संस्थाबीच भगिनी सम्बन्ध स्थापना, मिडिया र ‘एडभर्ट क्याम्पियन’, हरेक नेपाली रेष्टुरेन्टमार्फत प्रचार प्रसार, नेपाली मेला, गोर्खा कप, ओपन कन्सर्ट, भिसी कप, क्रिकेट टुर्नामेन्ट, ‘हाइक फर नेपाल’ आदिमा भ्रमण वर्ष प्रचारलाई प्राथमिकता दिइने बताउनुभयो ।

उहाँले सामाजिक सञ्जाल, संस्थाको लेटरहेड, निमन्त्रणा पत्र, सवारी साधन आदिमा भ्रमण वर्षको ‘लोगो’ प्रयोग गर्न पनि अपिल गर्नुभयो ।

डा सुवेदीले दूतावासले भ्रमण वर्ष केन्द्रित गर्दै भिजा सहजीकरण र संयुक्त अधिराज्यका विभिन्न शहरमा आफ्नो घुम्ती सेवा शुरु गरेको पनि बताउनुभयो । आफ्नो सेवा अन्तर्गत ‘आजको काम आजै, एकै दिन र एकैछिन’ मा गर्ने नीति अपनाइएको राजदूतको भनाई थियो ।

कार्यक्रम सञ्चालन गर्दै दूतावासका उपनियोग प्रमुख शरदराज आरनले दूतावासले बेलायतका चारवटै राज्यमा पर्यटन प्रवर्धन सम्बन्धि विविध कार्यक्रम गरिने बताउनुभयो ।

भ्रमण वर्ष अभियानलाई सार्थक सहयोग पुरयाउने उद्देश्यसहित राजदूत सुवेदीको अध्यक्षतामा गत १९ जनवरी २०१९ मा नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरीय मूल समिति युके र यस अन्तर्गत विभिन्न २२ वटा समिति गठन भई कार्यारम्भ भइसकेको थियो ।

शुभारम्भ समारोहमा बेलायतस्थित नेपाली डायस्पोराले पनि साथ दिने प्रतिवद्धता गरेको छ । समारोहमा २२ वटै समितिका संयोजक र उपसंयोजकले अहिलेसम्मको प्रगति विवरण प्रस्तुत गर्दै भ्रमण वर्ष सफल बनाउन आ(आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा बांसुरी समूह यूकेले बांसुरीबाटै राष्ट्रिय गान र अन्य मौलिक धुन प्रस्तुत गरेको थियो । सो अवसरमा राजदूत डा सुवेदीले एनआरएनए महासचिव डा हेमराज शर्मा र एनआरएनए युरोप उपसंयोजक कृष्ण तिमल्सेनालाई बधाइसहित सम्मान गर्नुभएको थियो ।