काठमाडौँ – पानी परेपछि फैलिएको रोगका कारण ९ जनाको मृत्यु भएपछि हुम्लाको ताजाकोट गाउँपालिकामा आइतबार विहान हेलिकोप्टरबाट स्वास्थ्यकर्मीसहित औषधी पठाइएको छ।
वान्ता हुने, रिंगाटा लाग्नेजस्ता लक्ष्यण देखिएका विरामीको मृत्यु भएको र गाउँमा अझै धेरै विरामी रहेकोले स्वास्थ्यकर्मीलाई हेलिकोप्टरबाट प्रभावित क्षेत्रमा पठाइएको सामाजिक विकास मन्त्री दल रावलले बताए।
सुर्खेतबाट चिकित्सकको टोलीलाई प्रभावित क्षेत्रमा पठाइएको हो। विरामीको परीक्षण गरेपछि सिकिस्त भए उद्धार गर्ने मन्त्रालयले जनाएको छ। रोगबाट प्रभावितको परीक्षण गर्ने, औषधी खुवाउने र रोग थप फैलिन नदिन प्रदेश सरकारले चिकित्सक पठाएको उनको भनाइ छ।
गाउँमा रोग फैलिए पनि पर्याप्त औषधी र स्वास्थ्यकर्मी छैनन्। चैत अन्तिम साता पानी परेपछि गाउँमा फैलिएको रोगले अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ भने रोगको पहिचान हुन सकेको छैन। दुई जना बालकसहित ७ जना बृद्धको मृत्यु भएको हो। रासस