काठमाडौं – करिश्मा मानन्धरको एमाले प्रवेशले त्यति तरङ्ग ल्याएन जति उनको एउटा भाषणले ल्यायो । एमाले प्रवेश लगत्तै अध्यक्ष केपी शर्मा ओलीसँग देश दौडाहामा निस्किएकी करिश्माले सोमबार कपिलवस्तुमा गरेको एउटा सम्बोधनमा आफूलाई एमालेको विचार सिद्धान्त राम्रो लागेको मात्र होइन आफ्नो न्वारनको नाम नै सूर्यकुमारी भएकाले आफू जन्मजात एमाले रहेको उनको जिकिर गरेकी थिइन् ।
तर करिश्माको यो अभिव्यक्ति ट्रोलरका लागि भने खुराक बन्यो । कतिले त ‘नयाँ जोगीले धेर खरानी धस्छ’ भन्ने उखान करिश्मातिर तेर्स्याउँदै करिश्मा जता गयो त्यतै ठिक्क पर्ने प्रवृत्तिको मानिस भन्दै उनलाई उडाए ।
सामाजिक सञ्जालमा राम्रै समय बिताउने करिश्मालाई भने मानिसहरूको यो टिप्पणी मन परेनछ क्यारे, बिहीबार अफिस टाइममा उनले पनि आलोचकलाई व्यंग्य कसिन् ।‘ सूर्य कुमारी मेरो न्वारानको नाम थाहा पाउदा धेरैलाई पोल्यो , भिटामिन डि प्राप्त भयो । राम्रो हो,’ उनले लेखिन् ।