काठमाडौँ – काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा एक साता थपिएको छ ।
मंगलवार बसेको काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको थियो ।
यसअघि बैसाख १३ गते बसेको सीडीओहरुको बैठकको निर्णयअनुसार बिहीवारदेखि उपत्यकामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको थियो । सोही साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कम्तीमा १५ दिन निषेधाज्ञा लगाउन प्रशासनलाई सुझाव दिएकोमा निषेधाज्ञा लम्बिने पक्का भइसकेको थियो ।
बैठकले आजदेखि निषेधाज्ञा थप कडाइ गर्ने निर्णय गरेको छ । यसअघि खुकुलोसहितको निषेधाज्ञा लगाइएकोमा मोडालिटी परिवर्तन गर्दै निषेधाज्ञा थप कडाइ गर्न लागिएको सीडीओ पराजुलीले जानकारी दिए । ‘अत्यावश्यक काम बाहेक हिँडडुलमा कडा रोक लगाएर उल्लंघन गर्नेलाई कारवाही गर्छौँ,’ उनले भने । यसका लागि प्रर्याप्त मात्रामा जनशक्ति परिचालन गर्ने उनले बताए ।