काठमाडौँ – नेपाली सेनाले कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन एउटा मात्रै नभई विविध कारणबाट ढिलाइ भएको स्पष्ट गरेको छ । शव व्यवस्थापन गर्नुअघि मृतकका आफन्त र अस्पतालले पूरा गर्नुपर्ने विभिन्न प्रक्रिया समयमै नभएका कारण समयमै व्यवस्थापनमा चुनौती खडा भइरहेको सैनिक प्रवक्ता पौडेलले बताए।


ADVERTISEMENT


अस्पतालमा शवगृहको अभावमा मृतकलाई लामो समयसम्म शय्यामै राख्नुपर्ने अवस्था, मृतकका घरपरिवार र आफन्तबाट शव बुझ्न हुने ढिलाइले पनि समयमै शव व्यवस्थापनमा अप्ठेरो खडा भएको देखिएको छ । कतिपयका त आफन्त मुलुकबाहिर भएका कारण अस्पताल प्रशासनले उनीहरुको आग्रह पर्खनुपर्ने बाध्यता तथा निजी अस्पतालले उपचार खर्च भुक्तानी नपाएसम्म शव हस्तान्तरण नगर्ने एवं प्रमाणपत्र नदिने परिस्थितिले पनि शवको समयमै सद्गत गर्न कठिनाइ परेको सेनाको भनाइ छ ।


ADVERTISEMENT

# # #


व्यक्तिको निधन हुनासाथ निसङ्क्रमण गरी शवदाहगृहमा राख्नुपर्नेमा त्यो नगरी कतिपय अस्पतालले शय्यामै छाडेका कारण पनि नकारात्मक चर्चा गर्नेका लागि थप मलजल पुगेको छ । सरकारले कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएकाको अन्त्येष्टि व्यवस्थापनको जिम्मा सेनालाई दिएको छ । सेनाको पनि सीमित साधन, स्रोत र जनशक्तिका कारण जिल्लास्थित ब्यारेकबाट विभिन्न अस्पताल पुगी एउटै टोलीले शव सङ्कलन गरी दाहसंस्कार गर्न तोकिएको निश्चित स्थानमा पुगेर समयमै व्यवस्थापन गर्ने कार्य पनि उत्तिकै चुनौतीपूर्ण छ । कतिपय जिल्लामा त शवबाहनको कमीले पनि समयमै व्यवस्थापन धौधौ बनाएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र ९सिसीएमसी०सँग प्रत्यक्ष सम्पर्क र समन्वयमा रहेर सेनाले शव व्यवस्थापन गर्दै आएको छ । एकै जिल्ला भए पनि फरक–फरक स्थान र लामो दूरी वरपरबाट एउटै शवबाहनमा तीन–चार वटासम्म शव सङ्कलन गर्नुपर्ने भएकाले पनि समयमै व्यवस्थापन गर्न कठिनाइ भइरहेको देखिएको छ । सैनिक ब्यारेकमा पिपिई सेट लगाएर २४सै घण्टा बसिरहनेभन्दा पनि खबर आएपछि पिपिई लगाएर निसङ्क्रमित भई स्वास्थ्यको मापदण्ड पालना गरेर निस्कनुपर्ने अवस्थाले पनि केही हदसम्म शव व्यवस्थापन ढिलाइ हुने गरेको सेनाले स्वीकार गरेको छ ।

काठमाडौँ उपत्यकाको हकमा भने पशुपतिनाथ मन्दिरमा रहेका तीन शवदाह मेसिनमध्ये एक बिग्रिएको अवस्थामा छ भने हाल दुई सञ्चालनमा छन् । कोभिड–१९ बाट मृत्यु हुनेको हालको चापलाई दुईवटा मेसिनले मात्र धान्न नसक्ने अवस्था छ । त्यसमा पनि २४सै घण्टा चलाउँदा थप बिग्रन सक्ने सम्भावनाई ध्यानमा राखी समय–समयमा रोकेर चलाउनुपर्ने अवस्था छ ।

सोही कारण काठमाडौँ उपत्यका विभिन्न अस्पतालबाट सोमबार दाहसंस्कारका लागि सङ्कलन गरिएको ३८ मध्ये ३६ शव मात्र व्यवस्थापन सम्भव भएको सेनाले जानकारी दिएको छ । बाँकी दुई शव मङ्गलबार बिहान अन्त्येष्टि गरिएको थियो । सङ्क्रमण फैलिएर दिनानुदिन मृतकको सङ्ख्या बढ्दै गएमा स्थान र दाउराको अभाव तथा मेसिनको क्षमता अपुग हुने एवं सङक्रमणको जोखिमका कारण पर्खेर बस्न नमिल्ने हुनाले सामूहिकरूपमा दाहसंस्कार गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुनसक्ने बताइएको छ । रासस