सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएबमोजिम काम नगर्ने ३१ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले ६ महिनायता काममा लापरवाही गर्ने ती कम्पनीलाई निश्चित अवधिका लागि प्रतिबन्ध लगाएको हो ।


ADVERTISEMENT


गत असोजमा मात्र कार्यालयले सात कम्पनीलाई कालोसूचीमा राखेको छ । भदौमा सबैभन्दा बढी १५ कम्पनी परेका छन् । असारमा चार र वैशाखमा पाँच कम्पनी यस्तो सूचीमा परेका थिए ।


ADVERTISEMENT

# # #


 

कालोसूचीमा पर्ने सबैभन्दा धेरै कम्पनी निर्माणसम्बन्धि छन् । १९ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । तीमध्ये सबैभन्दा धेरै सडक आयोजना जिम्मा लिएका कम्पनी रहेको कार्यालयले जनाएको छ ।

यस्तै, वस्तु आपूर्तिसम्बन्धी ६ वटा कम्पनी उक्त सूचीमा परेका छन् । चार वटा अन्य सेवा र एउटा परामर्श सेवा दिने कम्पनी पनि कारवाहीमा परेका छन् ।

‘विभिन्न कार्यालयबाट लेखी आएबमोजिम लापरवाही गर्ने निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो,’ कार्यालयका सचिव विनोद केसीले भने ।

कालोसूचीमा राखिएको अवधिभर उक्त सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन पाउँदैनन् ।