काठमाडौँ – नेपाल र चीनबीच आपसी सहयोगका तीनवटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


काठमाडौँमा आज भएको चीनका विदेशमन्त्री वाङ यी तथा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको भेटवार्ता लगत्तै तीनवटा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।


ADVERTISEMENT

# # #


दुई देशका मन्त्रीको उपस्थितिमा हस्ताक्षर भएको उक्त सम्झौतापत्र एक आपसमा साटासाट गरिएको थियो ।

मनाङमा चीनको सहयोगमा अस्पताल निर्माण परियोजनाको सम्झौतापत्रमा ‘चाइना इन्टरनेसनल कोअपरेसन एजेन्सी’का उपाध्यक्ष बेङ ओ चेङ र नेपालका अर्थ सचिव डा. राजन खनालले हस्ताक्षर गरे ।

त्यसैगरी, उनीहरुले नै आपतकालीन विपदका लागि चीनले पाँच हजार थान त्रिपाल लगायतका सामग्री सहयोग प्रदान गर्ने लगायतका कागजपत्र आदानप्रदान गरे ।

त्यस्तै, नेपालस्थित चिनियाँ राजदूत हाउयाङ सी र शिक्षा मन्त्रालयका सचिव महेश दाहालले आपसी सहमतिमा नेपालस्थित शैक्षिक प्रतिष्ठानमा चिनियाँ स्वयंसेवीले चिनियाँ भाषाको अध्यापन गर्न पाउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

उच्चस्तरीय भेटवार्तामा दुई देशका सम्बन्ध फराकिलो बनाउन बीआरआई परियोजनाको कार्यान्वयनमा तीब्रता दिने, चीनले नेपाललाई दिने आर्थिक सहयोग वृद्धि गर्ने तथा सम्पदा संरक्षणमा भूमिका निर्वाह गर्ने विषयमा थप पहल गर्ने विषयमा छलफल भएको थियो ।

करिब डेढ घण्टा चलेको वार्तामा दुबै देशका प्रतिनिधिमण्डलले आफ्नो क्षेत्रसँग सम्बन्धित विषय प्रस्तुत गरेका थिए ।

आइतबार नेपाल आएका विदेशमन्त्री वाङले मंगलबार विहान उच्चस्तरीय भेटवार्ता र पर्यटकीय क्षेत्रको मनोरञ्जनात्मक भ्रमण सम्पन्न गरी चीन फिर्ता हुने कार्यक्रम रहेको जनाइएको छ ।