चितवन – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकणमा मुछिएर सोमबार मात्रै धरौटीमा रिहा भएका न्यूज २४ टेलिभिजनका कार्यक्रमका प्रस्तोता रवि लामिछानेले आफ्नो सम्पत्ति विवरण सरकारलाई बुझाउन तयार रहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार चितवनमा आयोजित शुभकामना समारोहमा बोल्दै उनले काठमाडौँ पुग्नेवित्तिकै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न तयार रहेको बताएका हुन् । ‘काठमाडौँ जाने बित्तिकै म आफ्नो सम्पत्ति विवरण सरकारलाई बुझाइदिन्छु ।अलिकति डर के हो भने सरकारले मेरो त्यत्रो ऋण देख्नेछ र लाज हुनेछ भन्ने मात्रै हो । तर म बुझाइदिन्छु ।’ उनले भने, ‘यत्रा काण्ड गरेर, कालो धन्दा गरेका मान्छेहरुको भीड छाडेर सरकार मेरो सम्पत्ति हेर्न खोज्दैछ रे । म स्वागत गर्न चाहन्छु ।’


ADVERTISEMENT

# # #


प्रहरीले सोमबार पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन कसुर अपराधका आरोपी रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीको बैंक खाता र सो खाताको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको थियो ।

पुडासैनी आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई चितवन जिल्ला अदालतले धरौटीमा छाड्न प्रारम्भिक आदेश दिएको थियो । रवि लामिछानेलाई ५ लाख र युवराज कँडेललाई ३ लाख धरौटीमा रिहा गरिएको हो भने अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गरिएको छ ।

माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । घटना हुनुअघि उनले पत्रकार रवी लामिछाने, उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीको नाम लिएर आफूलाई यो अवस्थामा पुर्‍याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो फेला परेको थियो ।