काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले भारतबाट आयात हुने तरकारी र फलफूलमा हुँदै आएको विषादी रोक्ने निर्णयको विरोध गरेको छ ।


ADVERTISEMENT


शनिबार एक विज्ञप्ति जारी गर्दै काँग्रेसले सरकारले विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट हटेर जनताको स्वास्थ्यमा खेलवाड गरेको बताएको छ । सरकारले शुक्रबार मात्रै भारतबाट आयात हुने तरकारी र फलफूलको सीमा नाकामा हुँदै आएको परीक्षण तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


‘नेपाल–भारत सीमाको भन्सार विन्दुमा तरकारी फलफुल लगायतमा विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति सरकार स्वयंले सूचना प्रकाशित गरेर सार्वजनिक गरेको थियो ।’ काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘तर अहिले आएर सरकारले एकाएक कुनै परिक्षण वेगर भित्रिन दिने आदेश दिएको समाचार अत्यन्त गम्भीर छ ।’

यस्तै नेपाली कांग्रेसले विषादी परीक्षण नगर्ने निर्णयका बारेमा पारदर्शी र आधिकारिक धारणा तत्काल सार्वजनिक गर्न सरकार समक्ष माग गरेको छ ।

सरकारले उक्त निर्णय फिर्ता लिएर आफ्नो राष्ट्रवादी चरीत्र विसर्जन गरेको काँग्रेसको ठहर छ । ‘विषादीयुक्त खाद्य पदार्थका कारण अनेक रोगले नागरिकलाई गाँजिरहेको तथ्यलाई विर्षिएर सरकार आफ्नै घोषणा विपरीत उभिनु नागरिक जीवन माथि हदैसम्मको गैह्र जिम्मेवारी हो ।’ काँग्रेसले भनेको छ,  ‘निर्वाचनका बेला अभिव्यक्त महान राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विर्सजित हुँदैछ ?’

काठमाडौँको प्रदुषणको प्राविधिक मापनको ज्ञान वेगर एकातर्फ मास्क नलगाई हिड्न अपिल गर्ने अनि अर्कोतर्फ विषादीयुक्त तरकारी परिक्षण वेगर अन्धाधुन्ध प्रवेश गर्न दिने दोहोरो चरित्र सरकारले प्रस्तुत गर्नु अत्यन्त दुःखद रहेको काँग्रेसले जनाएको छ ।

विषादीयुक्त तरकारी–फलफुल प्रवेशमा तत्कालै कडा परीक्षण र नियन्त्रणको मार्गमा उभिन काँग्रेसले सरकारसँग माग गरेको छ ।