काठमाडौँ – विगत ३० महिनादेखि साउदी अरेबियाको जेलमा रहेका चितवन खैरहनी नगरपालिका–१० गुठौलीका जलेश्वर चौधरीलाई रिहाई गर्नको लागि सामाजिक स्वयंमसेवक नेपाल मिसन चितवन र मिसन झापाको नेतृत्वमा संकलित ३८ लाख १५ हजार रकम पीडितका बुवा सुकरा महतोलाई हस्तान्तरण गरिएको छ ।


ADVERTISEMENT


संस्थाद्वारा संकलन गरिएको उक्त ‘ब्लड–मनी’ साउदी सरकारलाई पठाउने तयारी भैसकेको संस्थाका उपाध्यक्ष सागर लामिछानेले बुधबार रिपोर्टर्स क्लब नेपालमा पीडित बुवालाई रकम हस्तान्तरण गर्दै घोषणा गरेका हुन ।


ADVERTISEMENT

# # #


गाडी चलाउने क्रममा साउदी नागरिकको मृत्यु भएपछि विगत ३० महिनादेखि जेलमा रहेका चौधरीको रिहाईको पहल गर्न गैर–आवासीय नेपाली संघ साउदीबाट ४ लाख पचास हजार सहयोग गर्ने प्रतिवद्वता आएको र उक्त रकम साउदीबाट सिधै हस्तान्तरण हुने पनि लामिछाने जानकारी दिए । लामिछानेले वैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका नेपाली नागरिकहरुलाई परेको अप्ठ्यारोमा आफूहरुले सहयोग गर्दे आएको विश्वास दिलाए ।

वैदेशिक रोजगारीको नाममा ठगिएका तथा अलपत्रमा परेकाहरुको उद्वारकै निम्ति आफु इन्डोनेसियाको बालीसम्म पुगेको पनि उनले स्पष्ट पारे ।  लामिछानेले आफ्नो संस्थाले विभिन्न रोगबाट पीडितहरुको सहयोगार्थ रकम संकलन तथा विपन्न परिवारका विद्यार्थीहरुलाई निःशुल्क शिक्षाको लागि सहयोग गर्न पाउँदा आफुमा खुशि र थप हौसला प्रदान भएको बताए । यस्तै पत्रकार ऋषि धमलाले लामिछानेको कामको प्रशंसा गरे ।

कार्यक्रममा बोल्दै साउदी जेलमा रहेका पीडित चौधरीका बुवा सुकरा महतोले आफ्नो छोरो केही पैसा कमाउन गएको तर झण्डै मृत्युको मुखमा पुगेको सुनाउँदै अन्ततः मृत्युको मुखबाट बचाएर घर फर्कने वातावरण बनाउने संस्थाप्रति धन्यवाद दिए ।

‘सबै भगवानको खेल हुँदो रहेछ । आज मलाई यो संस्थामार्फत सहयोग गर्नेहरु सबै भगवान बनेर आउनुभएको छ । सहयोगको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु’–उनले भने ।

चाँडै नै छोरा नेपाल फर्कनेमा आफु ढुक्क बनेको पनि महतोले विश्वास दिलाए ।