काठमाडौँ – आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालद्वारा मलेसिया पाँच विकेटले पराजित भएको छ ।


ADVERTISEMENT


सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा ९० रनको चुनौति पाएको नेपालले २२.२ ओभरको समाप्तिमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि राहित कुमार पौडेलले सर्बाधिक अविजित ३४ रन बनाए । ओपनर सन्दिप सुनार १५ र अनिल शाह १२ रनमा आउट भए भने तेस्रो नम्बरमा आएका प्रनित थापामगरले पनि ८ रनमात्र बनाउन सके । नेपालले १० ओभरमा ३६ रन बनाउँदा महत्वपूर्ण तीन विकेट गुमाइसकेको थियो ।


ADVERTISEMENT

# # #


त्यसपछि आएका अदिल शान र प्रकाश केसीले खाता नै खोल्न सकेनन् । ११.३ ओभरमा ५ विकेट गुमाउँदा ४० रन जोडेको नेपालको पारी दिपेन्द्र सिंह ऐरी र राहित कुमार पौडेलले धानेका थिए ।

यो जोडीले छैटौं विकेटका लागि अविजित ५२ रनको साझेदारी गरे । ऐरीले १९ र पौडेलले ३४ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको मलेसिया ३५.१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । प्रारम्भिक ब्याट्सम्यान सफिउल्ला मलिकलाई शून्यमा गुमाएको मलेसियाका लागि साएद अजिज मुबारक र कप्तान विरानदीप सिंहले ५८ रनको साझेदारी गरे ।

अजिजले सर्वाधिक ४६ रन बनाए । विरनादीपले १० रन जोडे । मलेसियाका चार ब्याट्सम्यान शून्यमा पेभेलियन फर्के । बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिए । साहब आलमले दुई तथा रिजन ढकालले एक विकेट लिए ।

नेपालले अब अन्तिम खेल अफगानस्तानसंग खेल्नेछ ।