एजेन्सी – क्रिकेट विश्वकप अन्तर्गत बुधबार अफ्रिकाविरुद्धको खेलमा भारतीय पूर्व कप्तान एवम् वर्तमान विकेट किपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले विकेटकिपिङ्ग गर्दा लगाउने पञ्जामा भारतीय सेनाको चिन्ह देखिएको भन्दै उन्पन्न विवाद जारी छ ।


ADVERTISEMENT


बिहीबार अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले धोनीले पञ्जामा लगाएको यस्तो चिन्हप्रति आपत्ति जनायो र आइसीसीको नियमविपरित भएकाले अर्को खेलमा उक्त चिन्ह हटाउन निर्देशन दियो । चौतर्फी यसको बारेमा बहस भइरहँदा शुक्रबार भारतीय क्रिकेट बोर्ड बीसीसीआइले आइसीसीलाई पत्र लेखेको छ ।


ADVERTISEMENT

# # #


बीसीलाईले लेखेको उक्त पत्रमा धोनीले उक्त चिन्ह हटाउन जरुरी नभएको बताएको छ । प्रशासकीय समिति (सीओए)का अध्यक्ष विनोद रायले धोनीले पञ्जामा लगाउने चिन्हबारे पहिले नै आइसीसीसंग अनुमति लिएको दाबी गरेका छन् । धोनीको चिन्ह नियम विपरित नभएको उनले जिकिर गरेका छन् । तर, आइसीसीले भने उक्त चिन्ह हटाउनु पर्ने या आफूलाई विश्वस्त बनाउनु पर्ने बताएको छ ।

के छ आइसीसीको नियममा ?

आइसीसीको खेल सामग्री र लुगासम्बन्धि नियम अनुसार खेलाडीले कुनैपनि अन्तर्राष्टिय खेलमा राजनीतिक, धार्मिक वा जातियता झल्किने क्रियाकलाप वा सन्देश प्रयोग गर्न पाइँदैन । उसको नियममा भनिएको छ, ‘अन्तर्राष्ट्रिय खेलको दौरान कुनैपनि खेलाडीलाई आफ्नो खेल सामग्री वा लुगामा राजनीतिक, धार्मिक वा जातियता झल्किने वा सन्देश दिने क्रियाकलाप गर्न प्रतिबन्ध गरिएको छ ।’

यही नियमलाई समात्दै आइसीसीले धोनीलाई अर्को खेलमा उक्त चिन्ह हटाउन निर्देशन दिएको थियो । उसले नियम अनुसार धोनीले लगाएको चिन्ह राजनीतिक, धार्मिक वा जातियताका बारेमा नभएको भन्दै आफूलाई विश्वस्त तुल्याएमा भने धोनीले उक्त चिन्ह राख्न पाउने बताएको छ । उसले बीसीसीआइको पत्रमा विचार गरिने संकेत गरेको छ ।

पाकिस्तानी मन्त्रीको असन्तुष्टि

धोनीले पञ्जामा लगाएको चिन्हलाई लिएर पकिस्तानी विज्ञान प्रविधिमन्त्री फवाद हुसेन चौधरीले असन्तुष्टि जनाएका छन् । उनले धोनी इङ्गल्याण्डमा युद्ध लड्न नभई क्रिकेट खेल्न गएको भन्दै त्यस्तो चिन्ह राख्न नपाइने बताएका छन् । ‘धोनी इङ्गल्याण्डमा क्रिकेट खेल्न गएका हुन्, न कि महाभारतका लागि’ उनले भनेका छन ।