काठमाडौँ – नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले सत्तारुढ दलका नेताकार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिनिधि सभामा आइतबार बोल्दै सांसद रसाइलीले केपी ओलीबाट शासन प्रणाली जागाउनका लागि विकल्प खोज्न आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘हिजो गणतन्त्रका लागि आन्दोलन गरेकाहरु आज पनि रत्नपार्क र माइतीघर मण्डलामा उभिएर यो शासन प्रणाली जोगाउन आन्दोलन गर्नुपर्ने स्थित सिर्जना कसले गर्यो ?’ प्रश्न गर्दै उनले भने ‘त्यसर्थ म भन्न चाहन्छु, केपी ओलीको हातबाट समृद्धिको कुरा छाडिदिनुस्, यो शासन प्रणाली जोगाउनका लागि पनि सत्तासिन पार्टीका नेताहरुले प्रधानमन्त्रीको विकल्प खोज्नुहोस् ।’

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पटपटक ‘मेरो सरकार’ भनेकोप्रति विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा पनि यस्तै चलन छ भनेर पञ्छिन खोजेकोप्रति आपत्ति जनाए ।

‘चुनावभन्दा अगाडि भारतको विरोध र चुनावपछि भारतले जे गर्यो त्यही गर्ने हो ?’ उनले प्रश्न गरे । नेपालको राष्ट्रपति भन्दा भारतको राष्ट्रपतिलाई त्यहाँको संविधानले धेरै अधिकार दिएको उनको भनाइ थियो ।

सरकारले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई विवादमा ल्याउन सरकारले प्रयास गरेको उनले बताए । ‘हामीले गणतन्त्रका निम्ति शान्तिपूर्ण र सशस्त्र आन्दोलन त्यसै गरेका होइनौँ । हाम्रो पुस्ताले धेरै रगत र पसिना बगाएको छ ।’ उनले भने, ‘आज त्यो राष्ट्रपति जस्तो संस्थालाई विवादमा ल्याइँदैछ ।’

सांसद रसाइलीले वाइडवडी खरिद अनियमितता छानबिन गरिनुपर्ने माग राखे । प्रधानमन्त्री ओली भ्रष्टाचारका काण्डमा मुछिएका नेकपाका नेताहरुलाई सम्मिलत छैनन् भनेर न्यायालय बन्न खोजेको आरोप लगाए ।

‘रवीन्द्र अधिकारी मरेर जानुभयो । उहाँकाप्रति फेरि पनि श्रद्धान्जली छ । तर, प्रधानमन्त्रीकाई वाइडवडी काण्डमा उहाँ सम्मिलित हुनुहुन्न भन्ने अधिकार छ ? उहाँ न्यायालय हो ? उहाँ अख्तियार हो ? उहाँ विशेष अदालत हो ?’ उनले प्रश्न गरे, ‘बालुवाटारको जग्गामा आफ्ना पार्टीका नेता मुछिँदै गर्दा उहाँ दोषी हुनुहुन्न रे ! झुक्किनुभो रे ! राजनीतिक दलका नेता, सांसद वा प्रधानमन्त्रीलाई झुक्किने अधिकार छ ?’