काठमाडौँ – थाइल्याण्डमा सम्पन्न एशियन क्रिकेट काउन्सिल (एसीसी) यू–१६ क्रिकेट प्रतियोगिताको उपाधी नेपालले जितेको छ । डिफेण्डिङ च्याम्पियन नेपालले आइतबार मलेसियालाई ५९ रनले पराजित गर्दै उपाधी सुरक्षित गरेको हो ।


ADVERTISEMENT


टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धाति ३५ ओभरमा ९ विकेटको क्षतीमा १४० रन बनायो । १४१ रनको सामान्य लक्ष्य पच्छ्याएको मलेसिया ३४.५ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनमै समेटियो । मलेसियाका लागि आठौ नम्बरमा ब्याटिङ गर्न आएका मोहम्मद हाजिक ऐमानले सर्वाधिक १८ रन बनाए । २० बलमा उनले २ छक्का हानेका थिए । यस्तै वान मोहम्मद अजामले १६ र जिनेन्द्र मुरलीले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


नेपालको जितका लागि विशाल कुमार पटेल र दीपक बोहराले उत्कृष्ट बलिङ गरे । विशालले सात ओभरमा एक मेडेन राख्दै मात्र १८ रन खर्चिएर ४ विकेट चट्काए । यस्तै दीपकले समान ७ ओभरमा १ मेडेन राख्दै १६ रन खर्चिएर ३ विकेट लिए । निखिल कुमार सिंह र क्रिश कार्कीका नाममा समान १-१ विकेट रह्यो ।

यसअघि नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए । उनले ६७ बलमा ५ चौका प्रहार गरे । यस्तै दीपक बोहराले २३ तथा कप्तान विशाल विक्रम केसीले १७ रन जोडे । दीपकले १९ बलमा २ चौका र एक छक्का प्रहार गरे भने विशालले २७ बलमा एक छक्का हाने ।

निखिल कुमार सिंह १३ रनमा पेवेलियन फर्किँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।

यता मलेसियाका लागि साचिनु हेटिजले सर्वाधिक ३ विकेट लिए । यस्तै जिनेन्द्र मुरलीले २ तथा अहमद अकमल अलिफ, मोहम्मद अस्ररफ, सिद्धार्थ कार्थिक र सर्भेन सुरेन्दनले समान १-१ विकेट लिए ।