‘यातायात पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुन्छ’


ADVERTISEMENT


काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैशाख ११ गतेबाट सुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक राजकीय चीन भ्रमणपछि नेपाल–चीन द्धिपक्षीय सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास दिलाएका छन् ।


ADVERTISEMENT

# # #


सोमबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको चीन भ्रमणलाई नेपाल सरकारले विशेष महत्व दिएको स्पष्ट पारे । उनले भने, ‘उहाँको भ्रमणपछि नेपाल र चीनबीचको द्धिपक्षीय सम्बन्ध थप नयाँ उचाई्रंमा पुग्छ । चीनको विकाससँग नेपालको विकासलाई जोड्ने विभिन्न माध्यम र उपायहरुको खोजी गर्नेछ ।’

राष्ट्रपति भण्डारीले भ्रमणको दौरान दुईपटक सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्री ज्ञवालीले जानकारी दिए । मन्त्री ज्ञवालीले अप्रिल २९ तारिखमा चिनियाँ राष्ट्रपतिसँग द्धिपक्षीय औपचारिक वार्ता गर्ने र त्यही दिन विभिन्न सन्धि, सम्झौता तथा प्रोटोकलमा हस्ताक्षर गर्नेपनि जनाए । उनले भने,‘त्यो दिन प्रोटोकलमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।’

उनले राष्ट्रपति भण्डारीले चीनको प्राचिन शहर र चिनियाँ राष्ट्रपतिको गृहनगरसमेत रहेको सियानको भ्रमण गर्ने कार्यक्रम रहेको समेत जनाए । उनले राष्ट्रपति भण्डारीले चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको र भ्रमणको दौरान प्रान्तीय गभर्नरसँग भेटवार्ता गर्नेपनि जनाए । राष्ट्रपति भण्डारीको भ्रमण र भेटवार्ताले नेपाल–चीन सम्बन्ध अझै उचाईमा बढाउने विश्वास रहेको पनि मन्त्री ज्ञवालीले सुनाए ।

नेपाल–चीन सम्बन्धमा कुनै समस्या नरहेपनि चीनबाट नेपालले जसरी लाभ लिनुपर्ने थियो त्यो भने लिन नसकेको विगत मन्त्री ज्ञवालीले कोट्याए । आफू यसअघि चीन भ्रमणमा जाँदा चिनियाँ समकक्षीसँगको भेटवार्तामा नै नेपाल–चीन विकासको ‘फ्रेमवर्क’ तय भैसकेको पनि ज्ञवालीले सुनाए । उक्त ‘ट्रान्स हिमालयन मल्टि–डाईमेन्शनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत सिमा वारपार रेल, सडकहरु, बन्दरगाहाहरु, हवाई यातायात, सूचना प्रविधिलगायत थुप्रै विषयहरु पर्ने उनले सुनाए ।

उनले आफूहरुले अघि सारेका सबै योजनाहरु र त्यसभित्र केरुङ–काठमाडौं रेल उच्च प्राथमिकतामा रहेको बताए । उनले भने,‘त्यसको प्रि–फिजिविलिटी अध्ययन सकिएको छ । सम्भवत हामी फिजिविलिटी अध्ययन र यसको निर्माण कार्य सुरु गर्न सक्नेगरि निश्कर्षमा पुग्न सक्छौं भन्ने मलाई विश्वास छ ।’

त्यस्तै, कोशी, कालगण्डकी र कर्णाली आर्थिक कोरिडोर जसभित्र सडक र विभिन्न उत्पादनका पकेटहरु र त्यहाँको जनताको जीवनस्तर माथि उठाउने कुराहरुलाई पनि आफूहरुले अगाडि बढाएको मन्त्री ज्ञवालीले विश्वास दिलाए ।

राष्ट्रपति भण्डारीको यो भ्रमणमा चीनसँग सन् २०१६ मा भएको यातायात पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर गर्न लागे भन्दै उनले त्यस सम्झौतापछि चीनका चार वटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने उल्लेख । मन्त्री ज्ञवाली चिनियाँ उच्चस्तरीय नेतृत्वको नेपाल भ्रमण छिट्टै हुनेमा आफूहरु आशावादी रहेको पनि बताए। उनले भने, ‘उचित समयमा चिनियाँ उच्चस्तरीय राजनीतिक नेतृत्वको भ्रमण हुनेछ ।’

उनले आगामी मे महिनामा तातोपानी नाका खुल्ने र मितेरी पुल निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । आफूहरुले विदेश ऋण र अनुदान लिँदासमेत राष्ट्रिय हितलाई केन्द्रमा र सर्वोपरि ठानेरमात्रै लिने उनको भनाई छ ।

मन्त्री ज्ञवालीले आफ्नो १३ महिने कार्यकालमा नेपालको बाहृय सम्बन्धलाई नेपालको राष्ट्रिय हित हुनेगरि अझै बढि अनुकुल बनाउन र नेपालले तय गरेको विकासको परिकल्पनालाई सघाउन अनुकुल अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गर्न सक्दो प्रयत्न गरेको सुनाए ।

उनलेले भुकम्पपछिका वर्षहरुमा आफूहरुले लगातार ६ प्रतिशत ७ प्रतिशत आर्थिक वृद्धिद्धर हाँसिल गरेको सुनाउँदै यो विकास आँफैमा द्वन्द्वपछिको सिक्नलायक विषय भएको स्पष्ट पारे ।

फरक प्रसँगमा उनले विप्लव समूहप्रति लक्षित गर्दै यथाशक्य चाँडो हिंसा परित्याग गरि शान्ति प्रकृयामा आउन आग्रह गरे ।