एजेन्सी – श्रीलंकाको राजधानी कोलम्बोस्थित ३ गिरिजाघर र ३ ठूला पर्यटकीय होटलमा भएको श्रृंखलावद्ध बम बिस्फोटमा परी हालसम्म १३८ जनाको मृत्यु हुनुका साथै ४०० जनाभन्दा बढी घाइते भएको सुरक्षा निकाय तथा अस्पतालले जानकारी दिएको छ । श्रीलंकामा १० वर्ष अघि सकिएको गृहयुद्ध पछि भएको यो सबैभन्दा ठूलो विस्फोट हो ।


ADVERTISEMENT


पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थिए । सेन्ट एन्थोनी बिस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ ।


ADVERTISEMENT

# # #


चर्चमा बिस्फोट भएलगत्तै राजधानीका तीनवटा होटलमा पनि आक्रमण भएको प्रहरीले जनाएको छ । राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन् । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको एक चर्चमा पनि बिस्फोट भएको छ ।

बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको बिस्फोटबाट घाइते भएका ४०० भन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताएका छन् ।

सामाजिक सञ्जालमा राखिएका तस्वीरहरुमा चर्चको छाना ध्वस्त भएको देखिएको छ । चर्चको भुँइ टुटेफुटेका टाइल, भाँचिएका काठपात र रगत लतपतिएको देखिएको छ । तर यी तस्वीरको प्रामाणिकता पुष्टी हुन बाँकी छ ।

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ । यो समाचार तयार पार्दासम्म उक्त घटनाको जिम्मेवारी कसैले लिएको छैन ।