देशमा दोस्रो चरणको निर्वाचन सकिएर त्यसका सबै परिणामहरु पनि आइसकेका छन् । अन्य संगठन जस्तै नेविसंघले पनि आफ्नो पार्टीका उम्मेद्वारलाई जिताउन देशैभरी युवा परिचालन गरेको थियो । यस निर्वाचनको परिणामलाई नेविसंघले कसरी समिक्षा गरिरहेको छ ? नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संगठनका अध्यक्ष नैनसिंह महरले आफ्नो नेतृत्वको संगठनलाई कसरी अगाडी बढाइरहेका छन् ? विद्यार्थी राजनीति गरिरहेका र भविष्यमा राष्ट्रिय राजनीतिको सम्भावना बोकेका महरका आगामी सोच, योजनाहरु के के छन् ? आफ्नो पार्टीको नेतृत्वमा बनेको सरकारसंग उनी लगायत संगठनका के कस्ता आशा-अपेक्षाहरु छन् ? लगायतका विषयमा उनै महरसंग गरिएको कुराकानीको सम्पादित अंश


ADVERTISEMENT


पछिल्लो समय व्यस्तता कत्तिको बढेको छ ? के मा व्यस्त हुनुहुन्छ ?


ADVERTISEMENT

# # #


दोस्रो चरणको निर्वाचन सम्पन्न भएर नतिजा सार्वजनिक भएको छ । निर्वाचनमा नेपाली युवाहरुको कांग्रेसलाई कत्तिको साथ रह्यो ? विशेष गरी नेपाल विद्यार्थी संगठनले पार्टीलाई जिताउनका लागि र निर्वाचन सम्पन्न गर्नका के कती योगदान दिन सक्यो ? भन्ने समिक्षामा हामी अगाडी बढेका छौँ ।

निर्वाचनको परिणाम कस्तो रह्यो त ? यसको समिक्षा कसरी गरिरहनु भएको छ ?

हामीले क्रान्तिका नायक भन्ने गरेका गरिजाप्रसाद कोइरालाको भनाई यदि सापट लिने हो भने ‘देश हार्नुहुन्न, कांग्रेस वा अर्को कुनै पार्टी हार्दा धेरै घाटा हुँदैन ।’ भन्नु हुन्थ्यो । त्यस कारणले नेपाली कांग्रेसका पार्टी सभापति स्वयम् सरकार प्रमुख भएका बेला दोस्रो चरणको निर्वाचन सम्पन्न भयो । आशातीत परिणाम आउन नसकेपनि संविधान कार्यान्वयनको पाटो जुन छ त्यो मध्येको स्थानीय तहको निर्वाचन पनि एक थियो । त्यो शान्तिपूर्ण र एकदमै सौम्य किसिमले भएकोले देशले जितेको छ । तपाई हामीहरुले गरेको आन्दोलन जसबाट हामीले संविधान निर्माण गरेर जनताका पाईला समृद्धितर्फ अगाडी बढाउने प्रण गरेका थियौँ । आज संविधान कार्यान्वयनको पाटो अगाडी बढेको छ । त्यस कारणले कांग्रेसको मिसन संविधानको कार्यान्वयन, प्रजातन्त्र, जनताको अधिकारको रक्षा गर्ने हो । यी सबै स्थितिमा कांग्रेको नेतृत्वमा भएको चुनावले सबैलाई आशावादी बनाएको छ । यो नै ठूलो उपलब्धी हो जस्तो लाग्छ ।

एउटा ठूलो पार्टीको विद्यार्थी संगठनको नेतृत्वका हैसियतले राजनीतिक संगसंगै आथिक निकास दिनका लागि के गर्नुपर्छ जस्तो लाग्छ ?

अब राष्ट्रिय राजनीतिका बारेमा त पार्टीहरुको आफ्नो कुराहरु होला । तर हामी युवाहरुको तर्फबाट हेर्दाखेरी अझैपनि प्रदेश नं. २ को चुनाव सम्पन्न भएको छैन । यो सम्पन्न गर्नु पर्ने छ । मैले बारम्बार भन्ने गर्छु कि मधेश, पहाड, जनजाती, दलित, महिला लगायत धरै वर्ग र समुहका असहमति छन् । संविधानमा हाम्रा अधिकारहरु बढी लेखिदिएको भए हुन्थ्यो । हाम्रो बढी अपनत्व देखिएको भए हुन्थ्यो भनेर संविधानलाई नमान्ने होईन कि त्यसलाई थप स्वीकार्य बनाउनका लागि काम गर्नु पर्ने भन्ने खालका बढी असन्तुष्टिहरु आएका छन् । त्यसलाई पनि प्राथमिकतामा राखिनु पर्छ । वास्तवमा संविधान सबैको साझा दस्तावेज र सबैको आशा र विस्वासको केन्द्रबिन्दु बन्नु पर्छ । यो कुरा सम्पन्न भएको छैन । यो परिस्थितिमा पनि नेपालका राजनीतिक दलकहरु लागेको देखिन्छ ।

युवाका तर्फबाट हाम्रो अहिलेको नेपालपनि र विशेष गरी भोलिको हाम्रो पुस्ताको नेपाल भएका कारणले जे जसरी राजनीतिक दलका नेतृत्वहरुले यो देशको निमार्णका लागि, प्रजातन्त्रका लागि, गणतन्त्रका लागि जे जती योगदान दिनुभयो, त्यो स्मरण योग्य छ । तर भावीका लिनमा प्रजातन्त्र प्राप्तिको बाटो सकिएको छ । गणतन्त्र प्राप्तिको बाटो सकिएको छ । जनताले अधिकार प्राप्त गरेका छन् । तर ती अधिकार प्रयोग गर्ने विषयमा राज्यबाट ती स्रोत साधन तथा समृद्धि यतिछिटै प्राप्त हुन्छ कि हुँदैन भनेर जनता सशंकित छन् । तसर्थ समृद्धिको बाटोमा नेपाललाई लैजानका लागि राजनीतिक अधिकार जसरी हामीले जनतालाई शिक्षा, स्वास्थ्य, आवासको अधिकारलाई प्राप्त गर्ने बाटोमा जाँदैन, तबसम्म यी अधिकार प्राप्तिमा जहिलेपनि कठिनाई हुन्छ । त्यस कारण जनताको असन्तुष्टि भनेको सामान्यतया गाँस बास र कपासकै लागि हो ।

त्यसको उचित तरिकाले प्रवन्ध गर्दै नयाँ प्रविधिहरु, उन्नतीका नयाँ आयामहरु जे जती छन् । तिनीहरुसंगै अगाडी बढ्दै हाम्रा छिमेकी मुलूकको जस्तै देशलाई अगाडी बढाउनका लागि नेपालका राजनीतिक दलहरुले सोच्नुपर्ने बेला भएको छ ।

लामो समयदेखि विद्यार्थी राजनीतिलाई बुझ्दै आउनु भएको छ । नेपालको विद्यार्थी राजनीति र विद्यार्थी एजेण्डा कहाँ पुगेको छ र अब कुन रुपमा अगाडी बढ्दैछ ?

नेपालको विद्यार्थी आन्दोलन जतिबेलादेखि सुरुवात भयो विशेष गरी नेपाल विद्यार्थी संगठनको स्थापना भइसकेपछि तत्कालीन पञ्चायतलाई ढालेर पञ्चायत स्थापना गर्नु नै थियो । त्यो मुख्य उद्देश्यलाई प्राप्त गर्नका लागि पछाडीबाट हामीले शिक्षाका अधिकारका कुराहरु पनि उठायौँ । हाम्रो पार्टी स्थापना पश्चात राणाकालीन आन्दोलन ढलिसकेपछि नेपालमा शैक्षिक उन्नयन गर्नुपर्छ भनेर थुप्रै विद्यायलहरु स्थापना भएको पाइन्छ । विशेष गरी नेपालमा उच्च शिक्षाका लागि क्याम्पसहरु थिएन । उच्च शिक्षामा नेपाली जनताका छोराछोरीका पहुँच पुर्याउनका लागि वीपी कोइरालाको प्रथम जननिर्वाचित सरकारले शुवर्ण शमशेरलाई उपकुलपति बनाएर वि.सं २०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापना गर्यो। त्यहाँबाट नेपालमा जनताले उच्च शिक्षामा प्रवेश पाएको देखिन्छ । आज त्यही विश्व विद्यालय अन्तर्गत १२/१३ सयभन्दा बढी क्याम्पस सञ्चालित छन् र अन्य विश्व विद्यालय पनि सञ्चालनमा छन् । त्यस कारण नेपाली कांग्रेस र नेपाल विद्यार्थी संगठनले यो देशको विकासका लागि महत्वपूर्ण योगदान दिएको छ ।

राजनीतिक अधिकार स्थापनाका लागि हामीले हिजो गरेका लडाईं, २०६१/६२ सालको आन्दोलन, हाम्रा हजारौँ सहिदहरुको बलिदानीपूर्ण इतिहासलाई स्मरण गरेर नेपालमा लोकतन्त्र गणतन्त्र स्थापना भएको छ । ‘गुणस्तरीय तथा प्रविधियुक्त शिक्षा सबैका लागि हुनुपर्छ, आर्थिक हैसियतका आधारमा शिक्षामा भेदभाव गरिनु हुँदैन’ भनेर हामीले भन्ने गरेको कुरा आज कार्यान्वयन हुन सकिराखेको छैन । शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याइनु पर्छ भने तापनि त्यो हुन सकिराखेको छैन । ती कुराहरुलाई कार्यान्वयन गर्नका लागि अहिले नेपाली कांग्रेस सरकारमा छ । अब आर्थिक हैसियत कम भएका विद्यार्थीहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने कुरा कार्यान्वयन गराउन पर्छ भनेर हामीले भनिराखेका छौँ ।

अर्को युवाको वेरोजगारीको भयावह अवस्था जुन छ । त्यसलाई निकास दिनका लागि विभिन्न किसिमका रोजगार सिर्जना गरेर वा युवा बेरोजगार भत्ताको प्रबन्ध मिलाउन सक्यौँ भने युवाहरुको विचलित मानसिकतालाई कम गर्न सकिन्छ र देश निमार्णमा युवाको अग्रसरता बढाउनु पर्छ  ।

समयको विकाससंगै हिजोको तुलनामा देशका राजनीतिक, आर्थिक वा सामाजिक क्षेत्रका माग, आवश्यकताहरु परिवर्तन भएका छन् । देशलाई समृद्धिको दिशातिर अगाडी बढाउन र ती आवश्यकता पूरा गर्नका लागि चनौति तथा यात्रा कस्तो देख्नुहुन्छ ?

एउटा भौगोलिक चुनौति छ । भारत र चीन जस्ता ठूला मुलूकको बीचमा रहेको नेपालको भौगोलिक स्थिति जो छ यो पनि दया लाग्दो छ । हामीलाई उनीहरुले सहयोग गर्नुको सटट असहयोग बढी हुने स्थिति आजपनि यथावत छ । अर्को हाम्रो प्रवृत्ति को चुनौति हो । वर्तमान हाम्रो समाजमा तीन किसमका प्रवृत्ति भएका मानिस छन् । पहिलो राणकालीन सोच भएका, जो निरंकुश शासनले मात्रै देशको विकास गर्न सकिन्छ भन्दछन् । अर्को पञ्चायती स्वभावका जसले राजाले मात्र यो देशको विकास गर्न सक्छन् भन्ने विश्वास गर्छन् । पछिल्लो पस्ताका हामीहरु जो लाकतान्त्रिक गणतन्त्रबाट मात्रै यो देशलाई परिवर्तन गर्न सकिन्छ भन्ने सोच भएकाहरु छौँ ।

यी तीनवटै प्रवृत्तिका सोच भएकाहरुलाई एकिकृत गरेर, सबैलाई नैतिकवान् बनाउनु अपरिहार्य छ । यो देशको विकासका लागि मैले के योगदान दिन सकेँ वा सक्छु भन्ने भावनाको विकास हुन जरुरी छ । त्यस कारण मैले बारम्बार नैतिक शिक्षाको कुरा गर्छु । सबैमा एकता भयो भने देश बन्न गाह्रो छैन । हाम्रो कृर्षि योग्य जमिन तथा जल सम्पदाको भरपुर प्रयोग गर्न आवश्यक छ । त्यस्तै भारत तथा चीनजस्ता ठूला छिमेकी मुलूकको बीचमा रहेका हामी त्यहाँका पर्यटकलाई नेपालमा तान्न सकियो भने आर्थिक स्तर एकदमै राम्रो हुन्छ । र अर्को यो देशभन्दा बाहिर रहेका ५०/६० लाअ युवाहरुलाई देशमै रोजगारीका अवसर सिर्जना गर्न सकियो भने मुलूक बन्न कुनै समय पर्खिनु पर्दैन ।

अब तपाईले नेतृत्व गरिरहेको नेविसंघ तिरै फर्किऔँ । के कसरी अगाडी बढ्दैछ नेविसंघ ? आगामी योजनाहरु के छन् ?

नेपाल विद्यार्थी संगठनमा हामीले अहिले पनि खाली भएका ठाउँहरुमा अधिवेशन गराउन सकेका छैनौँ । केन्द्रिय प्रतिनिधिको अधिवेसन गराउनपट्टी लाग्छौँ । केन्द्रिय प्रतिनिधि ७५ वटै जिल्लामा पठाउछौँ । नेपाल विद्यार्थी संगठनको विधान अनसार २ वर्ष पुगिसकेका जिल्ला र क्याम्पस कमिटिको तुरुन्त अधिवेशन गर्नुपर्ने हुन्छ नभए अर्को व्यवस्था हुन्छ भनेको छ । हामी अधिवेशन नै गछौँ । मैले आजसम्मका नेविसंघका अध्यक्षहरु देखेको छु । नयाँ नेतृत्व आउने वित्तकै भएका जिल्ला तथा क्याम्पसका कमिटीहरु पनि विघटन गर्ने प्रवृत्ति ।

तर मैले प्रतिवद्धता पत्रमै मेरो कार्यकालमा नयाँ कमिटी आउने छैन भनेको छु र खाली भएका ठाउँमा नेपाल विद्यार्थी संगठनको अध्यक्षलाई दिइएको अधिकार नगरेर सबैको प्रतिनिधित्व गर्दै केन्द्रबाट प्रतिनित्रि पठाएर अधिवेशन गराउने भनेका छौँ । त्यसमा साथ सहयोग कम पाइएको छ । त्यसमा भाबन्डा गरेर मात्रै संगठन अगाडी जान सक्दैन । संगठनको विधान अनुसार सबै चल्नु पर्ने हुन्छ । २ वर्षभित्रै नेपाल विद्यार्थी संगठनको विधान अनुसार संघको महाअधिवेशन सम्पन्न गराएर नयाँ नेतृत्वलाई हामी सत्ता हस्तान्तरण गछौँ ।

अन्त्यमा, अहिले तपाई जुन स्थानमा हुनुहुन्छ, त्यसको अवधिपछि अरु जिम्मेवारीहरुपनि आउँदै जालान् । विद्यार्थी राजनीतिको नेतृत्व गरेर भविष्यमा राष्ट्रिय राजनीतिमा आफ्नो सम्भावना बोक्दै गर्दा के कस्ता कुराहरुमा आफ्नो अर्जुन दृष्टि राख्नु भएको छ ? वा भावी योजनाहरु के छन् ?

आज पनि म भन्दै छु कि म जहिले पनि गल्ती मा गर्ने कुरामा विश्वास गर्छु । मैले गरेका कामले बढीभन्दा बढी मानिस खुसी भइदिए हुन्थ्यो भन्ने मलाई लाग्छ । अहिले पनि समाज विक्षिप्त छ । नैतिकवान् समाजको स्थापना भएको छैन । त्यसको विकास शिक्षाबाट हुन्छ जस्तो लाग्छ मलाई । त्यसैले बारम्बार भन्ने गर्छु । मानवतावादमा आधारित नैतिकतावादी शिक्षाले नै देशलाई अगाडी बढाउन सकिन्छ । जेनसुकै पेसा अगाँलेपनि नैतिक शिक्षा भएन भने अगाडी बढ्न सकिँदैन । त्यसैले मेरो प्रमुख प्राथमिकता भनेको मानतावादमा आधारित नैतिकतावादी शिक्षा नै हो । अरु कुरा त नेपालको समृद्धिको लागि जलसम्पदाको भरपुर प्रयोग गर्नुपर्छ । भारत र चीनसंगको सम्बन्धलाई समान ढंगले अगाडी बढाउँदै त्यहाँको विकास संगसंगै करिब १० प्रतिशत भएपनि पर्यटटको रुपमा नेपालमा तान्न सकियो भने त्यसले देशको विकास हुन सक्छ । र अर्को महत्वपूर्ण कुरा के हो भने कृर्षिलाई परनिर्भर हुन दिनु हुँदैन । जसले गर्दा रोजगारीका अवसर सिर्जना पनि हुन्छन् र देशलाई आर्थिक विकासतिर लैजान सकिन्छ ।