काठमाडौँ – युवा तथा खेलकूद मन्त्रालयको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को समन्वयन तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको सहयोगमा १६ वर्षमुनिको प्रदेशस्तरीय विद्यालय क्रिकेट प्रतियोगिता मङ्गलबारदेखि हुने भएको छ ।


ADVERTISEMENT


यही चैत २५ गतेसम्म चल्ने उक्त प्रतियोगिताका खेल किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा सात प्रदेश सहभागी छन् जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेश छन् । त्यस्तै समूह बी मा सुदूरपश्चिम प्रदेश, प्रदेश २ र प्रदेश १ छन् । दुवै समूहको शिर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइलनमा प्रवेश गर्नेछन् ।

उक्त प्रतियोगिताको विजेता टोलीले रु एक लाख ५० हजार बराबरको खेल सामग्री पाउनेछन् भने उपविजेताले रु ७५ हजार बराबरको क्रिकेट खेल सामग्री प्राप्त गर्नेछन् । प्रतियोगिताबाट उत्कृष्ट खेलाडी थाइल्याण्डमा आयोजना हुने एसीसी य–१६ इस्ट्रन रिजनका लागि छनोट हुनेछन् । उद्घाटन खेलमा समूह ए मा रहेको प्रदेश ३ र गण्डकी प्रदेश भिड्नेछन् । रासस