नेपाली कांग्रेसले केन्द्रीय सदस्य भीष्मराज आङ्दम्वेको नेतृत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको छ।


ADVERTISEMENT


सोमबार राति सकिएको केन्द्रीय कार्यसमिति बैठकले पार्टी विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ३४ (७) अनुसार आङ्दम्वेको संयोजकत्वमा समिति गठन गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।


ADVERTISEMENT

# # #


अनुशासन समितिमा दुई जना सदस्य पनि चयन भएका छन्। केन्द्रीय सदस्य किशोर सिंह राठौर र देवेन्द्रराज कँडेल सदस्य छन् भने दुई जना सदस्य पछि थप गर्ने कांग्रेसले जनाएको छ।

अनुशासन समिति सर्वसहमतिबाट बनाइएको भनिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले आफ्ना तर्फबाट सदस्य दिएका छैनन्।

नेता पौडेलसँग आइतबार र सोमबार अनुशासन समितिमा रहने सदस्यको नाम माग गरे पनि पौडेलले दिन सकेनन्। सभापति देउवासँग पौडेलले दुई सदस्य र सिटौलाले एक सदस्य आफ्नो समूहबाट हुनुपर्ने माग गर्दै आएका थिए।

संयोजकसहित तीन जना सभापति देउवा समूहबाट छन्। अब दुई सदस्यमात्रै थप गर्न बाँकी छ।

सर्वसहमतिमै दुई सदस्य थप गरी अनुशासन समितिलाई पूर्णता दिने कांग्रेसको तयारी छ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार मंगलबार दिउँसो २ बजे पुन: केन्द्रीय कार्यसमिति बैठक बस्नेछ।

निर्वाचन समिति गठन, नेपाल विद्यार्थी संघ तदर्थ समिति गठन लगायत एजेन्डामा छलफलका लागि मंगलबार पनि बैठक बस्न लागेको हो।