काठमाडौैँ – नायिका रेखा थापा क्रिकेटसंग जोडिएकी छन् । रेखाले एनसीएल स्पोर्टसको आयोजनामा आगामी बैशाखमा हुने महिला टी-२० फ्रेन्चाइज क्रिकेट लिगको एउटा टिम किनेकी हुन् ।


ADVERTISEMENT


एशियाकै पहिलो महिला फ्रन्चाइज लिग दाबी गरिएको उक्त प्रतियोगितामा शहरका नाममा चार टोलीलले सहभागिता जनाउँदैछन् । जसमा विराटनगर रोअरिङ लायोनेस, भैरहवा क्विन्स, धनगढी वन्डर वुमन र काठमाडौ सुपर च्याम्पियन्स गरी चार टोलीको सहभागिता रहने छ ।


ADVERTISEMENT

# # #


रेखाले काठमाडौ सुपर च्याम्पियन्स किनेकी हुन् । सोमबार एक कार्यक्रममा टिम किनेपछि नायिका थापाले क्षमता हुँदाहुँदै पनि छोरी भएकै कारण विभेद भएको बताउँदै आफू विभेद अन्त्यका लागि खेल क्षेत्रमा आएको बताइन् ।

‘देशमा अझैपनि थुप्रै छोरीहरुले अभाव र अन्याय भोगिरहेका छन्। छोरीहरुमा प्रतिभा र क्षमता भएपनि अवसर पाएका छैनन्,’ उनले भनिन्, ‘नेपालमा पनि राम्रो क्रिकेट खेल्ने खेलाडीहरु देखे। तर उनीहरुलाई पनि विभेद गरिएको छ। एयरपोर्टमा पनि स्वागत नगरिएको सुनेँ। छोरीहरुलाई हुने यस्तै विभेद चिर्न म यस खेलमा अघि आएकी हुँ।’

काठमाडौँका लागि नेरी थापा मार्की खेलाडी रहेकी छन् ।  यस्तै नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री (भैरहवा), सिता रानामगर (धनगढी) र करुणा भन्डारी (विराटनगर) टोलीको मार्की खेलाडीका रुपमा रहेका छन् । प्रतियोगिताका अन्य फ्रन्चाइज टिममा अनुप सक्सेनाले विराटनगर रोअरिङ्ग लायोनेस, दीपक सुवेदी र अनिल भण्डारीले भैरहवा क्विन्स र हरि खनालले धनगढी वन्डर वोमेन किनेका छन् ।

आगामी वैशाख ७ देखि १४ गतेसम्म विराटनगरमा हुने प्रतियोगिताका विजेता टोलीले १० लाख र उपविजेता टोलीले ५ लाख रुपैया पुरस्कार पाउनेछ ।

अक्सनमार्फत खेलाडीको मोलमोलाई हुने प्रतियोगिताका लागि ए, बी र सी गरी तीन समूहमा विभाजन गरिएको छ । समूह एका खेलाडीका लागि न्यूनतम ४० हजारदेखि अधिकतम ५० हजार मूल्य तोकिएको छ । यस्तै बी ग्रेडका खेलाडीको न्युनतम मूल्य रु २५ हजार र अधिकतम मूल्य रु ५० हजार रुपैयाँ रहनेछ । त्यस्तै सी ग्रेडका खेलाडीको न्युनतम मूल्य १५ हजार र अधिकतम मूल्य रु २५ हजार रुपैयाँ रहनेछ ।