काठमाडौं – पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल मंगलबारदेखि विराटनगरको सहिद रंगशालामा हुदैछ । उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने छन् । समुह ए मा रहेको आयोजक नेपाल तुलनात्मक रुपमा कमजोर मानिएको भुटानविरुद्ध खेलेर प्रतियोगिताको सुरुवात गर्न लागेको हो । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।


ADVERTISEMENT


च्याम्पियनसिपमा सहभागी सबै टोलीले पहिलो चरण पार गर्दै फाइनलसम्म पुग्ने दावी गरेका छन् । सोमबार बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सबै देशका प्रशिक्षक र कप्तानले अन्तिमसम्म उपाधिका लागि फाइट गर्ने बताए ।


ADVERTISEMENT

# # #


नेपालका प्रशिक्षक हरि खड्काले उपाधि जित्ने लक्ष्यसहित उच्च मनोबललका साथ प्रदर्शन गर्ने बताए । नेपालकी कप्तान नीरू थापाले घरेलु मैदानको फाइदा उठाएरै छाड्ने बताईन् ।

नेपालसँग भिड्नका लागि आतुर रहेको भुटानी टोलीले यसअघि नेपालसँग भएका कुनै पनि प्रतिस्पर्धामा सफलता पाउन सकेको छैन । प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् । च्याम्पियनसिपमा ६ देशको सहभागिता रहेको छ ।

समूह ‘ए’मा नेपाल, भुटान र बंगलादेश छन् । समूह ‘बी’ बाट श्रीलंका, माल्दिभ्स र भारतले प्रतिस्पर्धा गर्दैछन् । महिला साफमा भारत सर्वाधिक सफल टोली हो । उसले चार पटक उपाधि जितेको छ ।

नेपालले तीनपटक उपविजेतामा चित्त बुझाएको छ । सोमबार नै सहभागी टोलीका कप्तानले च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरेका थिए ।