काठमाडौं – नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक समूहका तर्फबाट उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ । आगामी चैत १६ गते हुने निर्वाचनका लागि डेमोक्रेटिक लयर्स एसोसिएसनले अधिवक्ता सुनिलकुमार पोखरेलको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको हो ।


ADVERTISEMENT


बिहीवार राजधानीमा एक कार्यक्रम गरी घोषित प्यानलको उपाध्यक्षमा महिलातर्फ कविता थापा (कार्की) छन् । यस्तै प्रदेशतर्फको उपाध्यक्षमा प्रदेश १ मा डिल्लीबहादुर कार्की, २ मा सुधीरकुमार कर्ण, ३ मा राजेश्वर अधिकारी, ४ मा निरञ्जनलाल राजभण्डारी, ५ मा सुनिलकुमार श्रेष्ठ, ६ मा उत्तमप्रसाद आचार्य र प्रदेश ७ मा ठेकेन्द्रराज जोशी छन् ।


ADVERTISEMENT

# # #


यसैगरी महासचिवमा लीलामणि पौडेल र कोषाध्यक्षमा तेजबहादुर रावल उम्मेदवार छन् ।

समावेशी ढंगले महिला, आदिवासी जनजाति सहित सबै क्षेत्रलाई प्रतिधित्व गराउने गरी प्यानल घोषणा गरिएको डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीले बताए ।

कानूनी राज्य, डण्डहीनताको अन्त्य, मानव अधिकारको पालना, प्रेस स्वतन्त्रता लगायतका एजेण्डा अघि सारेको अध्यक्षका प्रत्यासी पोखरेलले बताए ।
‘कानूनी क्षेत्रमा दलगत स्वार्थ हावी भएकाले स्वतन्त्र न्यायपालिका बनाउन अफ्ठ्यारो परिरहेको अवस्थामा यसलाई हामी सुधार्ने छौं । यस्ता प्रवृत्तिको घोर विरोध गर्छौं,’ उनले भने ।

लोकतान्त्रिक समूहले ‘लोकलान्त्रिक मूल्यको संरक्षण, नियन्त्रित शासनविरुद्धको अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो प्रतिवद्धता स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिका हाम्रो कटिबद्धता’ भन्ने नारा अघि सारेको छ ।