काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले सरकार देशमा शान्ति सुरक्षा सुदृढ बनाउन सफल भएको दावी गरेका छन् । राष्ट्रियसभाको शून्य र विशेष समयमा राष्ट्रियसभा सदस्यहरुले उठाएका समसामयिक विषयका बारेमा बुधबार बसेको राष्ट्रियसभाको बैठकमा जानकारी गराउदै उनले शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताएका हुन् ।


ADVERTISEMENT


उनले ९५ प्रतिशत अपराधीलाई कानुनको दायरामा ल्याएको दाबी गरे । ‘अपराधीलाई कानूनी कठघरामा ल्याउन राज्य मूलभूत रुपमा सफल छ’ उनले भने, ‘९५ प्रतिशत अपराधीलाई कानूनको कठघरामा ल्याएका छौं, कतिपय घटनामा अझ पनि सफल हुन सकेका छैनौँ । हामी त्यसमा प्रयासरत छौं ।’


ADVERTISEMENT

# # #


मन्त्री थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा भने जति प्रयास गर्दा पनि अपराधी पत्ता लगाउन नसकेको स्वीकार गरे । ‘यस घटनामा अपराधीलाई जसरी शीघ्रताको साथमा कानूनको कठघरामा ल्याउनुपर्थ्यो त्यसमा सफल भएका छैनौं’ उनले भने ‘तर प्रयासलाई निरन्तरता दिएका छौं, हामीलाई विश्वास छ अपराधी कानूनी कठघरामा आउनेछन् ।’

घटनाको अनुसन्धानमा गम्भीर लापरबाही गर्ने प्रहरी अधिकारीलाई प्रमाण लोप गराएको आरोपमा फौजदारी कारबाही अगाडि बढाउन सांसदहरुले माग गरेका थिए ।

जवाफमा मन्त्री थापाले उनीहरुमाथि अनुसन्धान भइरहेको भन्दै आवश्यक देखिएमा फौजदारी मुद्दा चलाउने पनि बताए ।

सुन काण्डको सवालमा सुन तस्करीमा संलग्न ठूला माछाहरु मूलभूत रुपमा नियन्त्रणमा आइकेको भए पनि केही माछाहरु अझै जाल बाहिर रहेको स्वीकार गरे । मन्त्री थापाले ३३ किलोको सुन तस्करी भएको ठूलो सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको दावी गरे । तर तस्करले नयाँ बाटो प्रयोग गर्न थालेको भन्दै त्यसलाई पनि ध्वस्त पार्ने बताए ।