काठमाडौं – नेपाली कांग्रेसले आइतबार पनि संसदीय सुनुवाई समितिको बैठक बहिष्कार गरेको छ । संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनुवाइको विषयमा छलफल गर्न बसेको बैठक कांग्रेस सांसदहरुले बहिष्कार गरेका हुन् ।


ADVERTISEMENT


संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीको सुनुवाइ फागुन ७ गते मंगलबार गर्ने भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले संवैधानिक परिषद्ले सिफारिस गरेका दुई अध्यक्षको सुनुवाइ फागुन ७ गते दिउँसो १२ बजे गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


संवैधानिक परिषद्ले गरेका विभिन्न पाँच वटा आयोगको पदाधिकारीमाथि एउटामात्रै उजुरी समितिमा परेको छ । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीमाथि मात्रै एउटा उजुरी परेको पाइएकाले त्यसको अध्ययन गरी उजुरीकर्तामाथि पनि फागुन ७ गते नै छलफल गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

माघ ६ गते बसेको संवैधानिक परिषद् बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा सुवेदी, मधेशी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो । तर विपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा बसेको परिषद् बैठकले गरेको सो निर्णयप्रति असहमति जनाउँदै कांग्रेसले भने उनीहरुमाथिको संसदीय सुनुवाइ प्रक्रिया नै बहिष्कार गरेको छ ।